फिल्म । अभिनेता आमिर खान नयाँ फिल्मका लागि क्रिकेट सिक्न व्यस्त छन् । निर्देशक आशुतोष गोवारीकरको आगामी फिल्म ‘ललकारा’ मा भारतीय क्रिकेटका दिग्गज खेलाडी लाला अमरनाथको भूमिका निर्वाह गर्न लागेका आमिर त्यसैको तयारीमा जुटेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार आमिरले दक्षिण मुम्बईस्थित एक क्रिकेट क्लबमा प्रशिक्षण सुरु गरेका छन् । फिल्ममा आमिरसँगै विक्रान्त मेसी, जितेन्द्र कुमार र धैर्य करवा पनि मुख्य भूमिकामा देखिनेछन्। उनीहरू पनि क्रिकेटको अभ्यासमा जुटिरहेका छन् ।
कलाकारहरूलाई भारतीय क्रिकेटका दुई पूर्वखेलाडीले प्रशिक्षण दिइरहेका छन् । उनीहरू यसअघि कबिर खान निर्देशित फिल्म ‘८३’का कलाकारलाई क्रिकेट प्रशिक्षण दिने टोलीमा समेत आबद्ध थिए । सन् २०२१ मा प्रदर्शन भएको उक्त फिल्म भारतीय क्रिकेट टोलीले सन् १९८३ मा विश्वकप जितेको ऐतिहासिक घटनामा आधारित थियो ।
‘ललकारा’ सन् १९५२ मा भारत र पाकिस्तानबीच भएको ऐतिहासिक टेस्ट शृंखलाको पृष्ठभूमिमा निर्माण हुन लागेको स्पोर्ट्स ड्रामा हो । क्रिकेट प्रशिक्षणसँगै कलाकारहरूले फिल्मको पटकथा वाचन (स्क्रिप्ट रिडिङ) पनि गरिरहेका छन्। गत अक्टोबरको मध्यदेखि सुरु भएको रिडिङ सेसनमा आमिरले लेखक पियूष मिश्र र नीरज सिंहसँग पटकथाबारे छलफलसमेत गरिरहेका छन् ।
फिल्मको छायांकन सन् २०२७ जनवरी ४ देखि सुरु गर्ने तयारी छ । यो मिति आमिर र निर्देशक गोवारीकरका लागि विशेष मानिएको छ । उनीहरूको यसअघिको चर्चित फिल्म ‘लगान’को छायांकन पनि सन् २००० जनवरी ४ मै सुरु भएको थियो । ‘ललकारा’मार्फत आमिर र गोवारीकर लामो समयपछि पुनः एकसाथ काम गर्न लागेका हुन् । यसअघि उनीहरूले ‘लगान’ र ‘मंगल पाण्डे : द राइजिङ’मा सहकार्य गरेका थिए ।









