बोर्डमा तीन दिने ‘महिला चलचित्र महोत्सव’ सुरु

फिल्म । ‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ मंगलबारबाट काठमाडौँमा सुरु भएको छ । चाबहिलस्थित चलचित्र बिकास बोर्डमा सुरु भएको महोत्सव तीन दिन अर्थात् बिहीबारसम्म चल्नेछ । ११५ औं महिला दिवसको अवसर पारेर चलचित्र बिकास बोर्डअन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले आयोजना गरेको महोत्सवको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महोत्सवमार्फत फिल्ममा धेरैभन्दा धेरै महिलालाई समेट्न टेवा पुगोस् भन्दै शुभकामना व्यक्त गरिन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले बोर्डले निर्माण गर्न लागेको स्टुडियोमा काठमाडौँ महानगरपालिकाको सहकार्य चाहेको बताए ।कार्यक्रमले महिला फिल्मकर्मीलाई अगाडि बढ्न मद्दत मिल्ने उनले विश्वास व्यक्त गरे । कार्यक्रममा वरिष्ठ कलाकार वसुन्धरा भुषाल, चैत्यदेवी सिंह, अभिनेता विश्व बस्नेत, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष कुवेर गिरी लगायतको सहभागिता थियो ।

महोत्सवको पहिलो दिन फिल्म ‘सिन्दुर’ प्रदर्शन गरिएको थियो । कार्यक्रमस्थलमा ललितकला कलेजका विद्यार्थीले ‘सिन्दुर’ का महिला फिल्मकर्मीको स्केचसमेत बनाएका थिए । सोही कार्यक्रममा भुषाल र अभिनेता बस्नेतले फिल्म ‘सिन्दुरका अभिनयबारे अनुभव सुनाएका थिए । महिला चलचित्रकर्मी सशक्तीकरण समितिको अध्यक्षमा अभिनेत्री केकी अधिकारी रहेकी छन् ।

कमेन्ट गर्नुहोस्