निर्देशकले ‘ब्रह्मास्त्र २’ बारे के भने ?

फिल्म । रणवीर कपूर र आलिया भट्ट अभिनीत फिल्म ‘ब्रह्मास्त्र’को दोस्रो भाग बन्ने पक्का भएको छ । निर्देशक अयान मुखर्जीले ‘ब्रह्मास्त्र २’ निर्माण भइरहेको पुष्टि गरेका हुन् । सन् २०२२ मा प्रदर्शन भएको ‘ब्रह्मास्त्र’ ले दर्शकबाट मिश्रित प्रतिक्रिया पाए पनि यसको भव्य दृश्य, पौराणिक कथा र काल्पनिक संसारले छुट्टै चर्चा पाएको थियो । पहिलो भाग प्रदर्शन भएदेखि नै दर्शकले यसको दोस्रो भागको प्रतीक्षा गरिरहेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार गोवामा आयोजित ५७औँ भारतीय अन्तर्राष्ट्रिय फिल्म महोत्सव (आईएफएफआई) को तेस्रो दिन आयोजित विशेष सत्रमा अयानले फिल्मको दोस्रो भागबारे बताएका हुन् । उनले ‘ब्रह्मास्त्र २’ मा काम भइरहेको पुष्टि गर्दै पहिलो भागभन्दा बढी भारतीय संस्कृति र आध्यात्मिकता समेट्ने आफ्नो योजना सुनाएका छन् ।

‘ब्रह्मास्त्र’ को प्रारम्भिक अवधारणामा हलिउड फिल्मको प्रभाव रहेको अयानले स्वीकार गरेका छन् । विशेषगरी ‘ह्यारी पोटर’जस्ता फिल्मबाट आफू प्रभावित भएको उनको भनाइ थियो । तर, लेखन अघि बढ्दै जाँदा हिन्दू धर्म र भारतीय आध्यात्मिकतासँग जोडिएका मौलिक विषयले आफूलाई बढी आकर्षित गरेको उनले बताए।

उनका अनुसार फिल्मको नाम सुरुमा ‘ड्रागन’ राखिएको थियो । पछि कथामा हिन्दू धर्म र भारतीय आध्यात्मिकताको पक्ष बलियो हुँदै गएपछि नाम परिवर्तन गरेर ‘ब्रह्मास्त्र’ राखिएको हो । पहिलो भागमा रणवीरले शिवाको भूमिका निर्वाह गरेका थिए । फिल्ममा आलिया भट्ट, अमिताभ बच्चन, मौनी रोय र नागार्जुनको पनि प्रमुख भूमिका थियो ।

‘ब्रह्मास्त्र’लाई तीन भागमा निर्माण गर्ने योजना बनाइएको थियो । पहिलो भागको नाम ‘ब्रह्मास्त्र: पार्ट वान-शिवा’ थियो भने दोस्रो भागको नाम ‘ब्रह्मास्त्र: पार्ट टु-देव’ रहने जनाइएको छ । यद्यपि, दोस्रो भागको छायांकन र प्रदर्शन मिति भने सार्वजनिक भइसकेको छैन ।

कमेन्ट गर्नुहोस्