सही ऊर्जा र सही मानिस हुँदा काम जादुजस्तै बन्छ : स्वस्तिमा

फिल्म । नेपाली फिल्म ‘लालीबजार’ को छायांकन सम्पन्न भएपछि अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव साटेकी छिन् । ४० दिनसम्म बर्दियाको राजापुरमा चलेको छायांकनमा उनी टिमवर्क, सकारात्मक माहोल र निर्माण समूह प्रति सन्तुष्ट रहेको उल्लेख गरेकी छिन् ।

‘जब ऊर्जा सही हुन्छ र मानिसहरू सही हुन्छन्, तब काम जादुजस्तै बन्छ । छायांकन सम्पन्न भयो । अब तपाईं सबैले ‘लालीबजार’ हेर्ने क्षणको प्रतीक्षा छ’, उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत दर्शकलाई फिल्मप्रति उत्सुक बनाउने संकेतसमेत गरेकी छिन् । ‘बुलबुल’, ‘चिसो मान्छे’ जस्ता फिल्ममा आफ्नो स्टारडमको प्रभाव पर्न नदिएकी स्वस्तिमा ‘लालीबजार’ बाट सोही प्रतिक्रिया पाउनेमा विश्वस्त छिन् ।

षट्कोण आर्ट्सको निर्माणमा बनेको फिल्म ‘लालीबजार’ यम थापाको लेखन तथा निर्देशनमा तयार भएको हो । फिल्ममा स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिँदैछिन् । बर्दियाको राजापुरलगायत स्थानमा छायांकन गरिएको यो फिल्मको प्रदर्शन मिति फागुन १ गते तय गरिएको छ । छायांकन सम्पन्न भएसँगै ‘लालीबजार’ अब पोस्ट-प्रोडक्सनको चरणमा प्रवेश गरेको निर्माण पक्षले जनाएको छ ।

कमेन्ट गर्नुहोस्