‘गाउँ आएको बाटो’ लाई तारिफ नै तारिफ

फिल्म । नवीन सुब्बाको निर्देशनमा तयार भएको नेपाली फिल्म ‘गाउँ आएको बाटो’ को नेपाल प्रिमियर सम्पन्न भएको छ । फिल्मलाई नेता, साहित्यकार, फिल्मकर्मीले हेरेका थिए । गाउँले जीवन र बाल्यकालमा फिल्मले फर्काउन सफल भएको प्रतिक्रिया फिल्मकर्मीले दिएका छन् । गाउँमा बाटो पुगेपछि एक परिवारमा पर्ने असरलाई फिल्ममा देखाईएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रघुजी पन्तले विकाससँगै गाउँमा परेको प्रभाव र त्यहाँको संस्कृतिमाथी परेको असरलाई सुन्दर ढंगबाट फिल्ममा प्रस्तुत गरिएको बताए । उनले भने,‘यो हामीले नजरअन्दाज गरेको कथा हो । विकासले दैनिकी काम गर्ने एक बाबुलाई पारेको प्रभाव फिल्ममा देखाईएको छ । निर्देशक सुब्बाबाट हामीले अपेक्षा गर्ने फिल्म यस्तै हो ।’

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीले आफ्नो बाल्यकाललाई पर्दामा देखेको बताए । उनले भने,‘यो गाउँमा समय बिताएको एउटा पुस्ताको कथा हो । यो कथा र समुदायसँग म जोडिएको छु । यस्ता समुदायको कथा र मिहिन रुपमा केलाईएको कथामा फिल्म बन्नु जरुरी छ ।’

फिल्म हेरेर निस्किएपछि निर्देशक निश्चल बस्नेतले इन्जोय गरेको बताए । उनले भने,‘मैले काम सिकेको नै नवीन दाइको फिल्मबाट हो । आज मैले यो फिल्म हेर्न पाएँ, त्यो नै मेरो लागि व्यक्त गर्न नसक्ने अनुभव हो । यसमा विम्वको प्रयोग निकै गरिएको छ । यो सतही नभई भित्री रुपमा इन्जोय गर्न सक्ने फिल्म हो ।’

अभिनेत्री केकी अधिकारीले फिल्ममा माइलाको भूमिका निर्वाह गर्नुभएका दयाहाङ राईको अहिलेसम्मकै राम्रो अभिनय भनेर तारिफ गरिन् । उनले भनिन्,‘यो विषयमा फिल्म बनाउनु नै ठूलो आँट हो । म फिल्म हेर्दा भावुक भएँ, रोएँ । विशेषत हामीले आफ्नो अभिभावकलाई ल्याएर फिल्म हेराएर धन्यवाद भन्नु पर्छ ।’

केकीसँगै रहेको अभिनेत्री आँचल शर्माले अभिभावकको माया र योगदानलाई फिल्मले स्मरण गराउने बताइन । उनले भनिन्,‘ यसले परिवारलाई अझैँ नजिक बनाउँछ । यो फिल्म परिवार ल्याएर हेर्नुपर्ने बनेको छ ।’

अभिनेत्री स्वस्तिमा खड्काले मन भारी भएपनि फिल्म हेरेर मज्जा आएको बताइन । उनले भनिन्,‘विकासपछि हामी सधै राम्रो हुन्छ भन्ने सोच्छौँ । तर, यसले पार्ने प्रभाव पनि छ, त्यसलाई फिल्ममा देखाएको छ । यसले विकाससँगै के के छुटायो भन्ने बुझ्न मदत गर्छ ।’

अभिनेत्री सृष्टी श्रेष्ठले फिल्म हेरेपछि नेपालको यथार्थ बुझ्ने मौका पाएको बताइन । ‘फिल्मले पर्दा भित्रको कथा महसुश गराउँछ । कलाकारले अभिनय गर्नुभएको छैन, उक्त जीवन नै बाच्नु भएको छ । यो हाम्रो रियालिटी हो, कि विकाससँगै संस्कृति भुल्यौं’, उनले भनिन् ।

अभिनेत्री मिरुना मगरले फिल्म हेरेपछि नेपाली कला र शिपलाई आधुनिकताको नामले भुलेको तथ्यलाई फिल्मले सम्झाएको बताइन । उनले भनिन्,‘मैले फिल्म हेर्दा आधुनिकतामा शिल्पलाई भुलेको महसुश गरें । मेरो अभिभावकलाई निकै मिस गरें । उहाँहरू प्रति अझैँ सम्मान र इज्जत बढ्यो ।’

पूर्व मिसनेपाल तथा अभिनेत्री माल्भिका सुब्बा, अभिनेता नाजिर हुसेन लगायतले पनि फिल्मले बाल्यकालमा फर्काउन सफल भएको प्रतिक्रिया दिए । नवीन सुब्बाको कमब्याक फिल्म ‘गाउँ आएको बाटो’ मा पूर्वी नेपालको एउटा गाउँमा सडक र गाडी पुगेपछि आएको परिवर्तन र त्यसले एक परिवारमा पारेको असरको कथा देखाईएको छ ।

अभिनेता दयाहाङ राईको पात्र बाँसको चोयाबाट डोकोडालो, नाङ्लो बनाएर जीविकोपार्जन गर्छ । श्रीमती र एक छोरासँग उसको जीवन जेनतेन चलेको छ । जब गाउँमा सडक र गाडी आउँछ तब उसको पेशा संकटमा पर्छ । गाउँमा बजारका रेडिमेड वस्तुको प्रयोग बढेपछि बाँसबाट बनेका सामाग्री बिक्री हुन छाड्छन् ।

फिल्ममा दयाहाङको श्रीमतीको भूमिका पशुपति राईले निर्वाह गरेकी छन् भने छोराको भूमिकामा प्रसान राईले अभिनय गरेका छन् । फिल्ममा खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा आदिको पनि अभिनय छ । महेश राईको कथा रहेको फिल्मको पटकथा लेखनमा उनलाई निर्देशक सुब्बाले सघाएका छन् । फिल्मको निर्माता अमोद राई र नवीन सुब्बा हुन् भने सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई कार्यकारी निर्मातामा छन् ।

कमेन्ट गर्नुहोस्