फिल्म । भारतीय अभिनेता आमिर खानले वर्षौंदेखि चर्चा चल्दै आएको आफ्नो ड्रीम प्रोजेक्ट ‘महाभारत’ अन्ततः सुरु गर्न लागेको घोषणा गरेका छन् । एक अन्तर्वार्तामा ‘दंगल’ स्टार आमिरले पौराणिक महाकाव्य महाभारतलाई ठूलो पर्दामा उतार्ने योजना सार्वजनिक गरेका हुन् । उनका अनुसार यसै वर्षदेखि फिल्मको तयारी सुरु हुनेछ ।
आमिरले फिल्ममा निर्माता र अभिनेता दुवैको भूमिका निभाउने छन् । उनले भने,‘यो मेरो जीवनको सबैभन्दा ठूलो सपना हो । धेरै समयदेखि यसको तयारीमा थिएँ, अब त्यसलाई मूर्त रूप दिन लागिएको छु ।’
उनका अनुसार ‘महाभारत’ एक भन्दा बढी भागमा निर्माण गरिनेछ । तर निर्देशन कसले गर्ने भन्ने प्रश्नमा उनले स्पष्ट नबताए पनि फिल्मका विभिन्न भाग विभिन्न निर्देशकले निर्देशन गर्ने सम्भावना रहेको बताएका छन् । फिल्मको निर्माण लागत एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी हुने बताइएको छ, जुन भारतीय फिल्म इतिहासकै सबैभन्दा ठूलो बजेट मानिएको छ ।
यद्यपि, फिल्मको सुटिङ यसै वर्षदेखि सुरु गरिए पनि पर्दामा आउन केही वर्ष लाग्ने आमिरले बताएका छन् । त्यसअगाडि उनले तयार भएको फिल्म ‘सितारे जमिन पर’ प्रदर्शन गर्नेछन् । यो स्पेनिश फिल्म ‘च्याम्पियन्स’ (२०१८) को हिन्दी रूपान्तरण हो । आर एस प्रसन्नाले निर्देशन गरेको यो फिल्म आगामी जुन २० मा प्रदर्शनमा आउने बताइएको छ ।











