‘वरिष्ठ बलराम’ मा कस्तो भूमिकामा छन् विजय ?

फिल्म । कात्तिक ६ गते भाइटीकाको शुभ अवसर पारेर फिल्म ‘वरिष्ठ बलराम’ रिलिज हुँदैछ । यो फिल्ममार्फत दर्शकले फेरि एकपटक सशक्त कलाकार विजय बरालको अभिनय कौशल हेर्न पाउनेछन् । ‘पूर्ण बहादुरको सारङ्गी’मा ‘पूर्णे’ को चरित्रबाट आफूलाई नेपाली फिल्म बजारमा मुख्यधाराका कलाकारको पंक्तिमा स्थापित गराएका विजय बराल यो फिल्ममा कस्तो भूमिकामा देखिन्छन् भन्नेमा धेरैको चासो छ ।

‘पूर्ण बहादुरको सारङ्गी’मा एक बुढो गाइनेको भूमिकामा देखिएका विजय, ‘वरिष्ठ बलराम’मा भने एक युवा तथा जोसिलो पात्रमा प्रस्तुत भएका छन् । फिल्ममा उनको भूमिका समाजमा ‘वरिष्ठ’को छवि बनाएर बसेको एक शक्तिशाली व्यक्तिलाई चुनौती दिने खालको छ । राज्य प्रशासनसमेत आफ्नो मुठ्ठीमा लिएर बसेका दयाहाङ राईको पात्रलाई ठेगान लगाउने लक्ष्य लिएको चरित्रमा विजयले अभिनय गरेका छन् ।

फिल्ममा विजयको चरित्र धर्म (बाउआमाप्रतिको दायित्व), युवतीसँगको प्रेम सम्बन्ध र मुख्य रूपमा खोलामा रहेको ‘वरिष्ठ’को एकाधिकार तोड्ने प्रयासमा केन्द्रित छ । वरिष्ठको भूमिकामा दयाहाङ राई छन् भने विजय बराल ‘बले’को क्यारेक्टरमा छन् । निर्माण पक्षले उनी बले नै रहन्छन् वा बलराम बन्छन् भन्ने कुरा हालसम्म प्रस्ट पारेको छैन । यद्यपि, उनले वरिष्ठसँग टक्कर लिएका छन् । त्यसैले यी दुई मुख्य पात्रबीचको द्वन्द्वले फिल्मलाई उत्कृष्ट बनाउने विश्वास दर्शकमा छ ।

‘जसरी ‘पूर्णे’को क्यारेक्टर हिट भयो र दर्शकले रुचाउनुभयो, त्यसरी नै ‘बले’को क्यारेक्टर हिट नहोला भन्ने पनि लाग्छ । तर, यो सजिलो भने पक्कै छैन’, उनले थपे, ‘जसरी पूर्णे र बिकेको क्यारेक्टर हिट भएर दर्शकको दिमागमा बसेको छविलाई भत्काएर अर्को स्थापित गर्न सहज भने छैन । तर, कहिलेकाहीँ साधारण कुरा नै हिट हुन्छ ।’

फिल्ममा अनुभवी कलाकार र निर्माण टिमको बलियो उपस्थिति रहेकाले ‘वरिष्ठ बलराम’ले दर्शकलाई निराश नबनाउने धेरैले विश्वास व्यक्त गरेका छन् । ‘वरिष्ठ बलराम’ फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको यस फिल्ममा दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय रहेको छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् । आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको फिल्मका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । राम विष्ट लाइन प्रोडुसर हुन् ।

फिल्ममा मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको छ । यो फिल्मलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुबेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्