संगीत । गत वर्ष दसैँलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीत ‘पिरिम नलाउने’ लाई दर्शकले मन पराएका छन् । गत वर्षको अक्टुबर ९ मा सार्वजनिक गरिएको गीतले युट्युबमा ५ करोड भ्युज पार गरेको छ । एक वर्षमै गीतलाई ५ करोड भन्दा बढी पटक हेरिएको / सुनिएको हो । आशिष सचिन र मेलिना राइको स्वर रहेको गीतलाई संगीतकार दीपक शर्माले कम्पोज गरेका हुन् ।
गीतमा शब्द पनि दीपककै रहेको छ । दसैँको माहोल झालिकिने किसिमले तयार गरिएको गीतको भिडियोमा गायक आशिष सचिनसँगै मोडेल बर्षा राउत देखिएकी छिन । प्रेमिकाको गुनासो र प्रेमीको परिस्थितिलाई चित्रण गरिएको गीत मार्फत पाएको मायाले गायक आशिष दंग छन् ।‘मेरो प्रयासलाई सबैले रुचाइदिनु भयो यसले मलाइ सांगीतिक यात्रामा अगाडी बढ्न झनै हौसला थपेको छ’ आशिषले भने । गायक आशिषले सांगीतिक सपना पुरा भएको बताए । उनले भने ‘यो माया र विश्वासलाई अगाडी बढाउछु , आउदा गीतमा अझै मेहनत गर्नेछु ।’
आरोही एल्बममा समावेश गीतको भिडियोलाई सञ्चारकर्मी समेत रहेका निर्देशक सुव्रत आचार्यले निर्देशन गरेका छन् । ‘गीत नै फिल्मी थ्यो , त्यसैले यसलाई त्यसै अनुसार छायाँकन गर्यौ’ सुव्रतले भने । उनले गीतमा गायक आशिष र वर्षाको जोडी सुहाएर नै फिचर्ड गरेको समेत बताए । गीतमा सुव्रतलाई कन्सेप्ट क्रिएटरको रुपमा उनकै श्रीमती जया शर्माले साथ् दिएकी छिन । यसमा उत्सव दाहालको छायाँकन रहेको छ भने यसलाई नविन निरौलाले कलर र सम्पादन गरेका छन् । गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् । गीतमा दसैँमा गाउँ फर्किएको परदेशीको मायालुसँगको भेटलाई दर्साइएको छ ।