
फिल्म । गायक तथा अभिनेता प्रकाश सपुत आफ्नो निर्देशनमा ‘वसन्त’ फिल्म तयार गर्दैछन् । ‘परदेशी २’ मार्फत अभिनेता बनेका प्रकाश आफैँमा एउटा सफल गायक, सङ्गीतकार, गीतकारसँगै म्युजिक भिडियो निर्देशक हुन् । उनले तयार गरेको गीतलाई दर्शकले रुचाएका छन् । अहिले आम दर्शकसँगै फिल्मकर्मीको विश्वत व्यक्ति बनेका प्रकाशले आफूलाई विश्वास गर्ने र प्रतिभालाई पहिचान गरेर विदेश यात्रा गराउने श्रेय अनुरोध भट्टराईलाई दिए ।
सफल व्यवसायीको रुपमा परिचित समाजसेवी अनुरोध केही वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका छन् । उनले प्रकाशलाई ‘वसन्त’ मा समेत निर्माताको रुपमा सघाएका छन् । प्रकाशले आफ्नो पहिलो अष्ट्रेलिया यात्राको स्मरण गर्दै अनुरोधलाई धन्यवाद दिए ।
‘म दोहोरीमा गाएर जीविकोपार्जन गरिरहँदा अनुरोध दाईले आफ्नै व्यवस्थापनमा अष्ट्रेलिया लग्नु भयो । त्यो मेरो जीवनकै पहिलो वैदेशिक सांगीतिक कार्यक्रम थियो । मेरो आफ्नो गीत नभएकाले मैले अन्य सर्जकको गीत गएको थिएँ । मेरो प्रतिभालाई पहिचान गर्ने अनुरोध दाईलाई धन्यवाद दिने शब्द म सँग छैन’, प्रकाशले भने ।
अनुरोधले प्रकाशलाई पहिलो पटक कन्सर्टका लागि वैदेशिक यात्रा मात्र गराएनन्, निर्देशक बन्ने सपना पुरा गर्न पनि निर्माताको रुपमा साथ दिए । प्रकाशको प्रतिभालाई पहिचान गरेर आफुले होस्टेमा हैसे गरिरहेको अनुरोधले बताए ।

‘प्रकाशजी एउटा दोहोरीमा मात्र गाउने गायक होइन भनेर मैले अवसर दिएको हुँ । अहिले पनि फिल्म निर्माण गर्ने भन्दा सहकार्य गरेको छु । उनको कला प्रतिको चेतना र लगनशीलताले सहकार्य गर्ने वातावरण सधै निर्माण गर्छ’, अनुरोधले भने ।
कार्यक्रममा सहभागी हुन् नेपाल आएका अनुरोधले आगामी दिनमा समेत कलात्मक, सामाजिक गतिविधिमा आफूलाई सहभागी गराउने बताए । फिल्ममा अनुरोधसँगै मोहन विश्वकर्मा र नेन्सी शेरचन कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा मुख्य सहायक निर्देशक प्रकाशकै भाई सुनिल विक रहेका छन् ।