‘बलिदान’मा सौगात मल्लको सशक्त अवतार

फिल्म । प्रतीक्षा गरिएको फिल्म ‘बलिदान’मा अभिनेता सौगात मल्लको पहिलो झलक सार्वजनिक गरिएको छ । आउँदो बडादसैँको फूलपातीमा प्रदर्शन हुने तयारीमा रहेको पोस्टरमा अभिनेता मल्ल एक सशक्त र रहस्यमय अवतारमा देखिएका छन् । सार्वजनिक पोस्टरमा मल्लको एउटा आँखा कालो देखाइएको छ भने उनले लामो दाह्री-कपाल पालेका छन् र गाढा रङको वस्त्र लगाएका छन् । हातमा बलिरहेको राँको बोकेका उनको पृष्ठभूमिमा मानिसहरूको भीड र आगोको ज्वाला देख्न सकिन्छ, जसले फिल्मको कथावस्तु द्वन्द्वात्मक रहेको सङ्केत गर्छ ।

आफ्नो जीवन्त अभिनय कलाका लागि परिचित सौगात मल्लका हरेक नयाँ भूमिकालाई दर्शकले चासोका साथ हेर्ने गर्छन् । ‘बलिदान’मा उनको यो फरक र शक्तिशाली अवतारले दर्शकलाई फिल्म हलसम्म तान्ने अपेक्षा गरिएको छ । यो फिल्म दसैँको अवसरमा दर्शकका लागि एक उत्कृष्ट मनोरञ्जनात्मक खुराक बन्ने विश्वास निर्माण पक्षको छ ।

यसअघि फिल्मका मुख्य अभिनेता समीर भट्टको जन्मदिनमा प्रि-टिजर सार्वजनिक गरिएको थियो । देशभक्तिपूर्ण संवाद र दमदार एक्सन दृश्यसहित प्रस्तुत भएका समीरको उक्त प्रि-टिजरले निकै चर्चा पाएको थियो । सो प्रि-टिजर नेपालसहित नेपालीको बसोबास रहेका एक दर्जनभन्दा बढी देशमा युट्युबको ट्रेन्डिङमा परेको थियो ।

आसुसेन फिल्मस् प्रा.लि. को प्रस्तुति रहेको यस फिल्ममा समीर भट्ट र सौगात मल्लसँगै अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताका रूपमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्