फिल्म । पुराना निर्देशक रेश्राज आचार्यको निधन भएको छ । दर्जन बढी नेपाली फिल्म निर्देशन गरेका निर्देशक आचार्यको हृदयाघातका कारण निधन भएको हो । ६३ वर्षीय आचार्यलाई हृदयाघात भएपछि ओम अस्पतालमा लगिएको तर यहाँ लगेको आधा घन्टामा नै उनको मृत्यु भएको थियो ।
आचार्यका श्रीमती र एक जना छोरा छन् । दुवै जना विदेशमा भएकाले उनका दाजु कृष्ण आचार्यले अन्तिम संस्कार गरेका छन् । निर्देशक आचार्य काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए ।
‘मायालु’फिल्मबाट कलाकारको रुपमा नेपाली फिल्ममा प्रवेश आचार्यले ‘तिलहरी’ फिल्मबाट निर्देशन यात्रा थालेका थिए । बन्नी प्रधान र आचार्यले एक साथ ‘तिलहरी’को निर्देशन गरेका थिए ।
त्यसयता उनले ‘टुहुरो’, ‘आमा’, ‘बन्धन’, ‘धर्मसंकट’, ‘माटो बोल्छ’ लगायतका १५ फिल्ममा निर्देशन गरेका छन् । विराटनगर मुल घर भएका आचार्यले गोपीकृष्ण मुभिजको ब्यानरका धेरै फिल्म गरेका छन् । निर्माता निर्देशक निरक पौडेल उनका सहोदर भान्जा हुन् । उनले निर्देशन गरेको अन्तिम फिल्म ‘प्रीतिको फूल’ हो ।










