फिल्म । फ्राइडे रिलिज अन्तर्गत एकसाथ तीन फिल्म प्रदर्शन गरिएको छ । ‘उपहार’, ‘काँडेतार’ र ‘रङ्गेली’ महाशिवरात्रीलाई लक्षित गर्दै प्रदर्शन गरिएका फिल्म हुन् । रेखा थापाको निर्माणसँगै अभिनय रहेको ‘उपहार’ मा काठमाडौँमा जीविकोपार्जनको लागि तीन महिलाले गर्ने सङ्घर्षको कथा देखाईएको छ । अभिनेत्री थापाले चिया बेचेर पनि स्वदेशमै पाउन सकिने सफलताको संदेश आफ्नो पात्रले युवालाई दिने बताइन ।
हाल अमेरिकामा रहेकी अभिनेत्री थापाले भिडियो संदेशमार्फत फिल्मको विषयमा जानकारी दिएकी थिइन् । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्ममा पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजङ्ग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेलले अभिनय रहेको छ । यसमा गिरिराज घिमिरे मुख्य सहायक निर्देशक, विष्णु घिमिरे छायाङ्कन, मित्र गुरुङले सम्पादन, सुलक्षण भारतीले कथा लेखन, अभिमन्यू निरवी र माधव शर्माले पटकथा तथा संवाद लेखेका छन् ।
आजैदेखि प्रदर्शन गरिएको अर्को फिल्म ‘रङ्गेली’ मा बोर्डर छेउमा हुने अपराधिक घटनाक्रमलाई देखाईएको छ । अर्जुन सुवेदीको लेखनसँगै निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतले पनि अभिनय गरेका छन् । यसमा समाजमा बढिरहेको विकृतिलाई मुख्य विषयवस्तु बनाएको निर्देशक सुवेदीले बताए ।
‘यसले उठान गरेको विषयले युवालाई मनोरंजनसँगै संदेश दिन्छ । अपराधिक समुहको घटनाक्रम र त्यसले समाजमा परिरहेको प्रभावलाई चलचित्रको शैलीमा प्रस्तुत गरेका छौँ’, निर्देशक सुवेदीले भने ।
प्रदर्शन गरिएको अर्को फिल्म ‘काँडेतार’ राष्ट्रियता र राजनीतिको विषयमा आधारित छ । नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तुमा चलचित्र निर्माण गरिएको निर्देशक तथा कलाकार नवल खड्काले जानकारी दिए ।
फिल्ममा अभिनेता खड्कासँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार लगायतका कलाकारको अभिनय रहेको छ ।










