फिल्म । नेपालका प्रतिष्ठित साहित्यकार र मदन पुरस्कार विजेता अमर न्यौपाने र विवेक ओझाले हाल प्रदर्शनमा रहेको नेपाली फिल्म ‘महाभोज’ हेरेर आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन् । उनीहरूले फिल्मको विषयवस्तु, कथावस्तुको प्रस्तुति र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन् ।
न्यौपानेले ‘महाभोज’ लाई ‘समयको कथा बोकेको फिल्म’ को संज्ञा दिएका छन् । उनले फिल्मले हालको समाजमा व्याप्त सहकारी ठगीको मुद्दालाई सशक्त रूपमा प्रस्तुत गरेको बताएका छन् । उनले फिल्ममा ग्रामीण भेगका विभिन्न व्यक्तिहरूका कथा-व्यथालाई सहकारी घोटालासँग जोडेर प्रस्तुत गरिएको र कथाले प्रवाहमा बगिरहेको बताए ।
‘फिल्म हेरेपछि देशमा कानुनको कमजोरी र बल प्रयोग गरेर न्याय खोज्नुपर्ने स्थिति चित्रित गरिएको छ, जसप्रति दुःख व्यक्त गर्नै पर्छ’, उनले भने ।
अर्का मदन पुरस्कार विजेता साहित्यकार विवेक ओझाले ‘महाभोज’ मा अभिनयलाई निकै बलियो मानेका छन् । उनले कलाकारहरूले आफ्नो पुरानो अभिनयको स्तरलाई पार गर्दै उच्च स्तरको प्रदर्शन गरेका छन् भनेर उल्लेख गरे ।
ओझाका अनुसार, दुई घण्टा अवधिको यो फिल्मले समाज, परिवार र व्यक्तिगत मनोभावना तथा मनोविज्ञानलाई गहिरो र सूक्ष्म रूपमा केलाएको छ । फिल्मको कथा, जो समसामयिक सहकारी घोटाला वरिपरी घुमे पनि, यसले घरपरिवारका सम्बन्ध, गाउँ समाजको विश्वास र धोका सँगसँगै प्रस्तुत गरेको छ, जुन अत्यन्तै प्रभावकारी रहेको उनले बताए ।
ओझाले समाज र कानुन बीचको द्वन्द्व, कानुनी छिद्रको दुरुपयोग र कसरी मान्छे कानुनी र सामाजिक दृष्टिले सबथोक गुमाएर लाचार र विकल्पविहीन बन्न पुग्छ भन्ने विषयलाई मिहिन तवरले चित्रित गरेकोमा प्रशंसा गरेका छन् ।
नेपाली साहित्यका एक स्थापित नाम अमर न्यौपानेले आफ्नो उपन्यास ‘सेतो धरती’का लागि २०६८ सालको मदन पुरस्कार प्राप्त गरेका थिए । उनका कृतिहरूमा गहिरो सामाजिक चेतना र मानवीय संवेदनशीलता पाइन्छ । यस्तै, युवा साहित्यकार विवेक ओझाले आफ्नो उपन्यास ‘ऐँठन’का लागि २०७९ सालको मदन पुरस्कार जितेका थिए । उनका लेखनमा समसामयिक विषयवस्तु र मनोवैज्ञानिक विश्लेषण प्रमुख विशेषता छन् ।
‘महाभोज’ को निर्देशन दिनेश राउतले गरेका छन्, लेखन विकास सुवेदीको छ र निर्माण हिमाल कडरियाको रहेको छ । फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला, विनोद न्यौपाने लगायतका कलाकारहरूको प्रमुख अभिनय छ ।










