सङ्गीत । गायक तथा सङ्गीतकार नरेन्द्र शाहीले तीजलाई लक्षित गर्दै ‘परीछौ गमक्क’ बोल रहेको गीत सार्वजनिक गरेका छन् । गायक शाहीकै सङ्गीत र शब्द रहेको उक्त गीतमा गायिका पूर्णकला विसीले गायनमा साथ दिएकी छिन् । पछिल्लो समय तीज गीतमा मौलिकता भन्दा विकृति बढेपछि आफूले संस्कार र संस्कृतिसहितको ,मौलिक गीत तयार गरेको गायक शाहीले बताए ।
‘यो गीत मैले तीजको मौलिक भावनालाई सम्मान गर्दै तयार पारेको हुँ । हिजोआज तीजका गीतहरूमा भड्किलोपन र मौलिकताको अभाव देखिन थालेपछि, मैले वेदना मात्र होइन, आशा, आत्मबल र संस्कृतिको सुगन्ध बोकेको गीत ल्याउने संकल्प गरेको हुँ’, गायक शाहीले भने ।
उनले महिलाहरूको वास्तविक जीवनका सङ्घर्षलाई गीतले उजागर गर्ने बताए । ‘तीज गुनासोको होइन, चेतनाको पर्व हो भन्ने सन्देश दिन खोजिएको छ’, उनले भने । गीतमा नेपाली भेषभूषा, लोक धुन र मौलिक शैलीलाई प्राथमिकता दिएको र संस्कृति पहिचानलाई गीतमार्फत जोगाउनु सर्जकको कर्तव्य रहेको उनको भनाइ छ ।
‘महिला पात्र केवल गुनासो गर्ने होइन, आफैं बोल्ने, रमाउने र आत्मबल देखाउने पात्र हो । महिलाले केवल सहन मात्र होइन, परिवर्तन गर्न सक्ने शक्ति राख्छन् भन्ने सन्देश गीतमार्फत दिन खोजिएको छ’, उनले भने ।
उक्त गीतको भिडिओमा विरेन्द्र सिंह र सरिता धन्कुटीको अभिनय रहेको छ । उक्त गीतको भिडिओ सरोज शाहीको छायांकन, अनिल रानाको सम्पादन र मदन खड्काको निर्देशनमा तयार भएको छ ।








