कस्तो छ ‘जारी २’को शो सङ्ख्या ?

फिल्म । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी २’को एड्भान्स टिकट बिक्री नेपालका हलहरूले खुलाउन थालेका छन् । प्रारम्भिक शो तालिकाअनुसार फिल्मले देशव्यापी १ सय २१ बढी शो पाएको छ । विहीबार बेलुकासम्म कम्तीमा २०० देखि ३०० हाराहारीमा शो हुन सक्ने अनुमान गर्न सकिन्छ ।

यो शो संख्या अन्तिम भने होइन, यसका लागि विहीबार बेलुकासम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ । ‘जारी’को दोस्रो श्रृंखलालाई लिएर तीव्र प्रतीक्षा छ । बक्स अफिस विरासत बोकेको ‘जारी’को दोस्रो श्रृंखलासँग दर्शकीय अपेक्षा पनि उत्तिकै छ ।

फिल्मले लिम्बु समुदायको सांस्कृतिक पहिचान र यसको सेरोफेरोमा सामाजिक तथा पारिवारिक उकालो-ओरालोमा केन्द्रित कथा प्रस्तुत गर्ने संकेत गरेको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको यो फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बरालको मुख्य भूमिका छ । यिनीहरूका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई यस वर्षकै उच्च व्यापार गर्ने श्रेणीमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्