निफको पाँचौँ संस्करण चैतमा

फिल्म । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वर्षेनी आयोजना गर्दै आइरहेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौ संस्करण आगामी चैत महिनाको १०–१४ (March 24–28 ) सम्म काठमाडौंमा आयोजना हुने भएको छ । ५ दिनसम्म चल्ने महोत्सवमा ३८ देशका ८९ फिल्म प्रदर्शन गरिने आयोजकले जनाएका छन् । महोत्सवमा ५५ देश बाट ४ सय बढी फिल्महरु सहभागिताको लागि इच्छुक रहेका थिए । निफ फिल्म छनौट समितिले सिफारिस गरेको आधारमा आवेदन प्राप्त फिल्महरु मध्येबाट ८९ वटा फिल्म छनौट गरिएको आयोजकले प्रस्ट्याएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म, एनिमेटेड फिल्म, वृत्तचित्र फिल्म, सर्ट फिल्म र राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म, वृत्तचित्र र सर्ट फिल्म प्रदर्शन हुनेछन् ।

‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको यस फेस्टिभलमा यो वर्ष नेपाली प्रतिष्पर्धामा पचास हजार नगद पुरस्कारसहितको बेष्ट डकुमेन्ट्री अवार्ड थप गरिएको छ । यस अतिरिक्त नियमित रुपमा प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय फिचर फिल्महरू मध्येबाट एउटालाई International Federation of film societies, IFFS Don Quijote Award पनि प्रदान गरिनेछ ।

यसैगरि, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको वागमती अर्वाड प्रदान गरिनेछ । त्यसैगरी नेपाली प्रतिष्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु. १ लाख नगद र ट्रफी , उत्कृष्ट सर्ट फिल्मलाई नगद रु. ५० हजार नगद र ट्रफी, उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी तथा सर्ट फिल्म मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

कमेन्ट गर्नुहोस्