फिल्म । एकता पौडेलको डेब्यू निर्देशनमा निर्माण भएको फिल्म ‘हर्ष’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच पारिवारिक कथावस्तुमा बनेको यस फिल्मको २ मिनेट ५१ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मका प्रायः सबै कलाकारलाई स्थान दिएको ट्रेलरले कथावस्तुबारे प्रकाश पारेको छ ।
एक परिवारमा छोराको विवाहपछि आउने उतारचढाव ट्रेलरमा देखाइएको छ । लामो समयपछि नेपाली सिनेमामा पारिवारिक कथाले स्थान पाउन थालेको ‘हर्ष’को प्रचार सामग्रीले देखाएको छ । आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक पौडेलले नेपाली फिल्ममा पारिवारिक फिल्मको ट्रेन्ड घट्दै गएकाले आफूले यो विधा रोजेको बताइन् ।
उनी स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन् ।न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा फिल्मसमेत निर्माण गरेकी छन् ।फिल्ममा खगेन्द्र, वर्षा र साइमनसहित नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन र सिर्जना नापितको अभिनय छ ।
आलोक शुक्लाको छायांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ । अष्टलक्ष्मी प्रोडक्सन्स र ई-प्राइम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता छन् । फिल्मका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे र मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।









