फिल्म । भारतीय फिल्म उद्योगमा नयाँ जोडीको रूपमा साउथ सुपरस्टार धनुष र अभिनेत्री मृणाल ठाकुरको सम्बन्धको चर्चा चुलिएको छ । पछिल्लो दुई दिनयता धनुषको सम्बन्धविच्छेदपछि उनको मृणालसँगको निकटताले मिडियादेखि सामाजिक सञ्जालसम्म तहल्का मच्चाएको छ । हालै यी दुई ‘सन अफ सरदार २’ को प्रिमियरमा सँगै देखिएका थिए । त्यसपछि धनुषको आगामी हिन्दी फिल्म ‘तेरे इश्क में’ को र्याप-अप पार्टीमा पनि उनीहरूको उपस्थितिले अफेयरको हल्लालाई बल पुर्यायो ।
भारतीय मिडियाको रिपोर्टअनुसार, मृणालको साउथ फिल्म उद्योगमा बढ्दो सक्रियताले उनलाई धनुषको नजिक ल्याएको हो । स्रोतका अनुसार, ‘हो, यो सत्य हो कि उनीहरू एकअर्कालाई डेट गरिरहेका छन् । तर, यो सम्बन्ध अझै प्रारम्भिक चरणमा छ र उनीहरूले मिडिया वा सार्वजनिक रूपमा खुलासा गर्ने योजना बनाएका छैनन् ।’
स्रोतले दाबी गरेको छ कि धनुष र मृणालसँगै देखिन कुनै हिचकिचाहट राख्दैनन् । उनीहरूको रुचि, मूल्य र सोचमा समानताले यो सम्बन्धलाई थप गहिरो बनाएको छ । ‘सीता रामम’ को सफलतापछि मृणालका लागि साउथ फिल्म उद्योगमा अवसरहरू खुले, जसले उनलाई मुम्बई र हैदरावादबीच ओहोरदोहोर गर्न बाध्य बनायो । यही क्रममा एक साउथको कार्यक्रममा धनुषसँग उनको भेट भयो, जसबाट मित्रता हुँदै प्रेममा परिणत भयो ।
जुनमा काजोलको फिल्म ‘माँ’ को स्क्रिनिङमा पनि यी दुईको आत्मीयता सबैको ध्यानाकर्षणको केन्द्र बनेको थियो । यस्तै, मृणालले धनुषका दिदीहरू डा. कार्तिका कार्तिक र विमला गीथालाई इन्स्टाग्राममा फलो गरेको र दिदीहरूले पनि उनलाई फलो ब्याक गरेको कुराले सम्बन्ध गम्भीर भएको संकेत गरेको छ । यद्यपि, धनुष र मृणालले यो विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।
यसअघि मृणालको नाम र्यापर बादशाहसँग जोडिएको थियो, तर उनले इन्स्टाग्राम स्टोरीमार्फत यी हल्लाहरू खण्डन गरेकी थिइन् । उता, धनुषको विवाह रजनीकान्तकी छोरी ऐश्वर्यासँग सन् २००३ मा ‘कढल कोण्डैं’ को सेटमा भेट भएपछि भएको थियो । १८ वर्षसम्म चलेको यो सम्बन्ध सन् २०२२ मा अलग हुने घोषणासँगै २०२४ मा सम्बन्धविच्छेदमा टुंगियो। उनीहरूका दुई छोरा, यात्रा र लिङ्गा, छन् ।










