फिल्म । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरले आफ्नो पछिल्लो फिल्म ‘जलाकी’ले दर्शकको मन छुन नसकेको भन्दै माफी मागेका छन् । गत शुक्रबार अर्थात् मंसिर ४ गतेदेखि नेपालमा प्रदर्शनमा आएको फिल्म ‘जलाकी’ले घरेलु बजारमा दर्शक आकर्षित गर्न सकेको छैन । विषयवस्तुका हिसाबले राम्रो प्रतिक्रिया पाए पनि फिल्मको दर्शक उपस्थिति भने उत्साहजनक देखिएको छैन ।
बक्स अफिस स्रोतका अनुसार फिल्मले मंसिर ७ गते सोमबारसम्म २३ लाख रुपैयाँ मात्र कमाइ गरेको छ । उक्त अवधिमा फिल्मका ६ हजार ६२२ टिकट बिक्री भएका छन् । आफ्नो फिल्मले अपेक्षाअनुसार दर्शक नपाएपछि निर्देशक थापाले सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिएका छन् । उनले समय र परिस्थितिले पनि कहिलेकाहीँ धोका दिने उल्लेख गर्दै फिल्मले दर्शकको मन छुन नसकेको भए माफी मागेका छन् ।
उनले लेखेका छन्, ‘सोचे जस्तो हुँदैन रहेछ जिन्दगी, कहिलेकाहीँ समय र परिस्थितिले पनि ठूलो धोका दिँदोरहेछ। फिल्म भनेको कथा र भावना बुझ्नका लागि मात्र होइन, पात्रहरूसँगको सामीप्यता महसुस गर्नु पनि हो। मनोरञ्जन लिनु मात्र होइन, पर्दामा प्रस्तुत अरूको जीवन, पीडा, खुसी र अनुभूतिलाई आफ्नै जीवनसँग जोडेर महसुस गर्नु पनि हो। यदि ‘जलाकी’ फिल्मले कसैको मन छुन सकेन भने म माफी माग्न चाहन्छु। किनकि फिल्म केवल हेरिने कथा होइन, महसुस गरिने जीवन पनि हो।’
पहिलो फिल्म ‘खुस्मा’को सफलतापछि सोही टिमले निर्माण गरेको ‘जलाकी’मा उपासना सिंह ठकुरी र सोनम तोप्देन मुख्य भूमिकामा छन् । फिल्ममा शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्गी, खड्कबहादुर पुन (खबपु) र लुनिभा तुलाधरलगायत कलाकारको अभिनय रहेको छ ।









