फिल्म । भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्मको कथा र त्यसको समयकालबारे जानकारी दिएको छ । फिल्मको कथा विसं २०३०/४० को दशकको ग्रामीण परिवेशमा आधारित देखिन्छ ।
ट्रेलरमा अनमोल केसी र प्रिन्सी खतिवडा मुख्य रूपमा प्रस्तुत भएका छन् । काजीको भूमिकामा रहेका अनमोल गाउँमा शिक्षकका रूपमा काम गर्छन् । यही क्रममा उनको प्रिन्सीसँग प्रेम बस्छ । तर, अनमोलको परिवार भने उनीहरूको सम्बन्धको पक्षमा देखिँदैन । यस्तो अवस्थामा उनीहरूको प्रेमले पूर्णता पाउँछ कि पाउँदैन भन्ने जिज्ञासा ट्रेलरले छाडेको छ ।
ट्रेलरमा भुवन केसी र गरिमा पन्तलाई पनि देख्न सकिन्छ । उनीहरूको युवावस्थाको भूमिकामा अनमोल र प्रिन्सीले अभिनय गरेका छन् । बुबाको भूमिकामा देखिन अनमोलले जुँगासमेत पालेका छन् । समग्रमा ट्रेलरले पुरानो शैलीको प्रेमकथाको झल्को दिएको छ । फिल्मले नयाँ पुस्तासँगै पुराना पुस्ताका दर्शकलाई पनि विगतका दिनको सम्झना गराउने देखिन्छ ।
भुवन केसीको निर्देशनमा बनेको फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, अमितेश शाह, शिशिर सिवाकोटी, हिना नगरकोटी र संगी अधिकारीलगायत कलाकारको पनि अभिनय रहेको छ । सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्मका निर्माता जीया केसी र भविष्य खड्का हुन्।









