‘सुख दु:ख’मा विपना

फिल्म । अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दु:ख’मा अभिनेत्री विपना थापा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई बुधबार औपचारिक रूपमा अनुबन्ध गरेको हो । यसअघि नीता र विपनाले फिल्म ‘ह्रस्व दीर्घ’मा सहकार्य गरेका थिए । यो उनीहरूको दोस्रो सहकार्य हो ।

विपनाले फिल्म ‘सुख दु:ख’मा जोडिन पाउँदा आफू निकै खुसी भएको बताएकी छन् । ‘फिल्मको कथाले मेरो मन छोयो । नीताको निर्देशनमा बन्न लागेको यो फिल्ममा काम गर्न पाउँदा म उत्साहित छु’, उनले भनिन् । निर्देशक नीताले पनि विपनालाई फिल्ममा अनुबन्ध गर्न पाउँदा खुसी व्यक्त गरिन् ।

नीताले यसअघि यो फिल्मका लागि मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठलाई अनुबन्ध गरिसकेकी छन् । अन्य कलाकार र प्राविधिक पक्षबारे क्रमशः जानकारी दिइने उनको भनाइ छ ।

आगामी फागुनबाट छायांकन सुरु हुने यो फिल्मलाई चर्चित भारतीय छायांकार कबीर लाल र शाहिद लालले खिच्ने छन् । ‘नीता फिल्म्स’को ब्यानरमा निर्माण हुने यो फिल्म अर्को वर्षको दसैंको फूलपातीबाट प्रदर्शनमा आउनेछ ।

कमेन्ट गर्नुहोस्