बोर्डका अध्यक्ष पण्डितले सम्हाले कार्यभार

फिल्म । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले पदभार ग्रहण गरेका छन्। सोमबार बोर्डको कार्यालय पुगेर पण्डितले कार्यभार सम्हालेका हुन्। उनलाई बोर्डका कर्मचारी तथा पदाधिकारीले फूलमालासहित स्वागत गरेका थिए।

बोर्डमा पदभार ग्रहण गर्नुअघि पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर अध्यक्ष पदको नियुक्तिपत्र बुझेका थिए। गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

अध्यक्ष पदका लागि १२ जनाले व्यावसायिक कार्ययोजना प्रस्तुत गरेका थिए। तीमध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पण्डितसहित नरेशकुमार पौडेल र निशा अधिकारीलाई अन्तिम तीन प्रतिस्पर्धीका रूपमा छनोट गरेको थियो।

पण्डित यसअघि चलचित्र विकास बोर्डमा बक्स अफिस प्रणाली लागू गर्ने प्रक्रियामा समेत संलग्न थिए। बोर्डकी तत्कालीन अध्यक्ष निकिता पौडेलको कार्यकालमा बक्स अफिस सफ्टवेयर भित्र्याउन उनले भूमिका खेलेका थिए। पण्डित फिल्म निर्माता पनि हुन्।

अध्यक्षको जिम्मेवारी सम्हालेसँगै फिल्म क्षेत्रको विकास, बक्स अफिस प्रणालीको प्रभावकारी कार्यान्वयन तथा बोर्डका आगामी योजनामा उनको भूमिका कस्तो रहनेछ भन्ने चासो बढेको छ।

कमेन्ट गर्नुहोस्