मौलिक फिल्म निर्माणका लागि सरकारले साढे ३ करोड अनुदान दिने

फिल्म । सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित फिल्म निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३/८४ मा ३ करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले मौलिक, यथार्थपरक तथा जनचेतनामूलक फिल्म निर्माणका लागि स्क्रिप्ट, प्रोडक्सन र पोस्ट प्रोडक्सन विधामा अनुदान दिन आवेदन आह्वान गरेको छ । मन्त्रालयका अनुसार इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक विवरण र कागजातसहित आवेदन पेस गर्नुपर्नेछ।

अनुदानका लागि आवेदन दिँदा फिल्मको कथा तथा पटकथा, निर्माता, निर्देशक, छायाँकार र कलाकारलगायतको विवरण, सम्बन्धित व्यक्तिहरूको बायोडाटा तथा निर्माण कार्ययोजना पेस गर्नुपर्नेछ।

सरकारले स्थानीय संस्कृति, परम्परा, सामाजिक यथार्थ र राष्ट्रिय पहिचान झल्काउने मौलिक फिल्म निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदान उपलब्ध गराउन लागेको जनाएको छ। अनुदान वितरणको प्रक्रिया र मापदण्ड सम्बन्धित कार्यविधिअनुसार निर्धारण गरिने जनाइएको छ।

कमेन्ट गर्नुहोस्