किन भइरहेको छ रश्मिका र विजयको ट्रोलिङ ?

फिल्म । अभिनेत्री रश्मिका मन्दाना र अभिनेता विजय देवरकोंडा यतिबेला सामाजिक सञ्जालमा चर्चामा छन् । आफ्नो सम्बन्धलाई लिएर भइरहेका टिप्पणी र ट्रोलिङबीच दुवैले छुट्टाछुट्टै पोस्टमार्फत प्रतिक्रिया दिएका छन् । रश्मिकाले आफू विजयसँग अत्यधिक प्रेममा रहेको बताएकी छन् भने विजयले पनि आफूहरू खुसी रहेको उल्लेख गरेका छन्।

यो चर्चा टेलिभिजन कार्यक्रम ‘कफी विथ करण ९’ मा उनीहरूबीच भएको कुराकानीपछि सुरु भएको हो। कार्यक्रममा रश्मिका र विजयले आफ्नो सम्बन्ध तथा विवाहबारे अनुभव सुनाएका थिए। त्यसपछि उनीहरूको कुराकानीको एउटा अंश सामाजिक सञ्जालमा भाइरल भयो र विजयको व्यवहारलाई लिएर विभिन्न टिप्पणी हुन थाले।

केही प्रयोगकर्ताले विजयलाई सम्बन्धमा समस्या निम्त्याउन सक्ने व्यक्तिका रूपमा चित्रण गर्दै रश्मिकालाई सम्बन्धबारे सल्लाह दिन थाले। कतिपयले भने टेलिभिजन कार्यक्रममा भएको केही मिनेटको कुराकानीका आधारमा कुनै जोडीको सम्बन्धबारे निष्कर्ष निकाल्न नमिल्ने बताएका छन्।

‘कफी विथ करण ९’ मा विवाहबारे कुरा हुँदा रश्मिकाले विजयसँग विवाहका लागि आफूले प्रस्ताव राखेको बताएकी थिइन्। उनका अनुसार विजयले उनलाई विवाहबारे १०० पटक सोध्न भनेका थिए। त्यसपछि उनले करिब एक वर्षसम्म विजयलाई विवाहबारे सोधिरहिन्।

कार्यक्रममा उनीहरूबीचको कुराकानी हल्का र रमाइलो शैलीमा भएको थियो। विजयले भने विवाहजस्तो ठूलो निर्णय तत्कालीन भावनाका आधारमा मात्रै लिन नचाहेको बताएका थिए।

तर, यही प्रसंगलाई लिएर सामाजिक सञ्जालमा आलोचना सुरु भयो। केही प्रयोगकर्ताले विजयलाई ‘वाकिङ रेड फ्ल्याग’ अर्थात् सम्बन्धमा समस्या निम्त्याउन सक्ने व्यक्तिको संज्ञा दिए। केहीले रश्मिका अझ राम्रो जीवनसाथी पाउन योग्य रहेको भन्दै सल्लाह दिए भने अरूले विजयले आफूलाई मात्रै महत्त्व दिने गरेको टिप्पणी गरे।

विजयले रश्मिकालाई विवाहका लागि १०० पटक सोध्न भनेको प्रसंगलाई केहीले सम्बन्धमा समानताको अभावका रूपमा व्याख्या गरे। यद्यपि, अन्य प्रयोगकर्ताले भने सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई राम्ररी नचिनी ‘टक्सिक’ वा समस्याग्रस्त व्यक्तिको संज्ञा दिनु उचित नभएको बताएका छन्।

सामाजिक सञ्जालमा भइरहेको चर्चाबीच रश्मिकाले लामो पोस्ट लेख्दै आफ्नो धारणा सार्वजनिक गरिन्। सामान्यतया यस्ता विषयमा प्रतिक्रिया नदिने भए पनि यसपटक आफ्नो र विजयको सम्बन्धबारे भइरहेका टिप्पणीले बोल्न बाध्य बनाएको उनले उल्लेख गरेकी छन्।

रश्मिकाले विवाहबारे १०० पटक सोधेको प्रसंगलाई लिएर भइरहेको चर्चाको जवाफ दिँदै त्यो संख्या मुख्य विषय नभएको बताएकी छन्। उनका अनुसार उनीहरू दुवै एकअर्कालाई बुझ्न पर्याप्त समय दिन चाहन्थे र जीवनका विभिन्न परिस्थितिमा पनि सँगै रहन चाहन्छन् कि चाहँदैनन् भन्ने निश्चित गर्न खोजिरहेका थिए।

उनले लेखेकी छन्, ‘कुरा यति मात्रै थियो कि हामी एकअर्कालाई बुझ्न पर्याप्त समय र ठाउँ दिऊँ। जीवनका राम्रा र नराम्रा परिस्थिति, खुसी र तनावका बाबजुद पनि हामी एकअर्कासँगै जीवन बिताउन चाहन्छौँ कि चाहँदैनौँ र यो सही समय हो कि होइन भन्ने निश्चित गर्न चाहन्थ्यौँ। हामीले त्यही गर्‍यौँ। हामीले एकअर्कालाई रोज्यौँ।’

रश्मिकाले आफ्नो सम्बन्धबारे अरूले अनावश्यक चिन्ता गरिरहन आवश्यक नरहेको पनि बताएकी छन्। आफू विजयलाई अत्यधिक प्रेम गर्ने उल्लेख गर्दै उनले जीवनमा फेरि त्यही निर्णय गर्नुपरे पनि विजयलाई नै रोज्ने बताएकी छन्। उनले लेखेकी छन्, ‘यदि मैले फेरि जीवनमा त्यही निर्णय गर्नुपर्‍यो भने पनि म विजयलाई नै रोज्नेछु।’

कमेन्ट गर्नुहोस्