महाशिवरात्रीमा ‘फेरी रेशम फिलिली’

फिल्म । निरोज महर्जनको निर्देशनमा तयार भएको फिल्म ‘फेरी रेशम फिलिली’ आउँदो शिवरात्रीमा प्रदर्शन हुने भएको छ । निर्माण पक्षले रिलिज डेटसहितको पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ । वितरकको सल्लाह अनुसार प्रदर्शन तय गरिएको हुँदा अब प्रचारप्रसारमा समय खर्चिने निर्माण पक्षले जानकारी दिएको छ ।

निर्माता रौनकविक्रम कडेलले फिल्म पूर्ण मनोरन्जनात्मक बनेको बताए । यो फिल्म २०७२ सालमा रिलिज भएको ‘रेशम फिलिली’को सिक्वेल हो । पहिलो शृंखलाका निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेक विनय श्रेष्ठ र कामेश्वर चौरासिया ‘फेरी रेशम फिलिली’को मुख्य भूमिकामा दोहोरिएका छन् । अभिनेत्रीमा यसपटक सुपुष्पा भट्टले मुख्य भूमिका निवार्ह गरेकी छिन् ।

यसमा विनय, कामेश्वर र सुपुष्पासँगै नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय रहने छ । ‘दिमाग खराब’का निर्माता कडेलको लगानी रहेको फिल्ममा कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह–निर्मातामा एनी थापा छिन् ।

सिनेमा आर्र्टसको प्रस्तुति र वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा सुसन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको छ ।

कमेन्ट गर्नुहोस्