महापुरूष हेरेपछि दर्शकले भने,‘मास्टरपिस फिल्म, हेर्न नछुटाउनु’

फिल्म । प्रदर्शनरत फिल्म ‘महापुरूष’ दर्शकको राम्रो साथ पाइरहेको छ । फिल्म हेर्न हलसम्म परिवार नै लिएर आउने धेरैछन् । कारण, उनीहरूलाई फिल्म मन परिरहेको छ । आफ्नो विश्वस्त व्यक्तिबाट फिल्म राम्रो रहेको थाहा पाएपछि उनीहरू परिवारनै लिएर हलमा आएकाहुन् । यसले गर्दा फिल्म बक्सअफिसमा समेत बलियो सावित भइरहेको छ । फिल्म नेपालसँगै अष्ट्रेलिया र अमेरिकाको विभिन्न सहरमा समेत राम्रो व्यापार गरिरहेको छ । प्रदर्शनको पहिलोसाता सकिनै लाग्दा यसको ‘महापुरूष’ टिम पश्चिम नेपालका विभिन्न सहरहरूमा पुगेर दर्शक प्रतिक्रिया लिईरहेका छन् ।

विशेषत फिल्म हेर्न आइरहेका दर्शक परिवारनै छन् । फिल्मलाई प्राप्त प्रतिक्रिया नै यसको प्रचारप्रसारको माध्यम बनिरहेको छ । फिल्म हेर्न परिवारमै आउनेको संख्या बढिरहेको निर्माता म्याक्स दीपेश खत्रीले जानकारी दिए । ‘हामीले हल भिजिटमा प्राय फ्याम्ली अडियन्स पाएका छौँ । सुखद पक्ष उहाँहरूलाई फिल्म मन परेको छ’, निर्माता खत्रीले भने ।

एकै परिवारका २८ जनाले हेरे फिल्म

गत शनिवार फिल्म हेर्न एकै परिवारका २८ जना हल पुगेका थिएँ । भक्तपुरमा रहेको क्युएफएक्स सिनेमामा उनीहरूले एकसाथ फिल्म हेरेका हुन् । फिल्म हेरेपछि राम्रो लागेको प्रतिक्रिया निर्माण टिमलाई उनीहरूले दिएका थिए । यस्तै, विराटनगर १ बाट ४० जनाले फिल्म हेरेका थिएँ । उनीहरू एकै टोलका वासिन्दा रहेको सामाजिक सञ्जालमार्फत नै प्रस्ट्याएका छन् । ‘हामीले उठान गरेको विषयलाई बुझेर हलबाहिरसम्म फिल्मसँगै ल्याउनु भएको छ । मेरो पहिलो सफलता यही हो । हामीले जे भन्न खोजेका थियौं त्यो दर्शकसम्म पुर्‍यायौ’ निर्देशक प्रदीप भट्टराईले भने । उनी फिल्मका लेखक समेत हुन् ।

९१ वर्षीया वृद्धाले हेरिन् फिल्म

बागलुङ स्थायी घर भएकी ९१ वर्षीया भीममाया ओझा लौरो टेक्दै काठमाडौंको बालाजुमा रहेको लोत्सेमल स्थित आईएनआई हल पुगेर फिल्म हेरेकी हुन् । उनले फिल्म हेरिसकेपछि निर्माण टिमलाई मन परेको भन्दै आशिर्वादसमेत दिईन् । उनले शब्दमा व्यक्त गर्न नसकिएको कथा फिल्म मार्फत सबैले बुझ्ने गरी प्रस्तुत भएको प्रतिक्रिया दिएकी थिइन् । ओझा आफ्नो पनातिको भात खुवाइमा सहभागी हुन काठमाडौं आएको मौकामा परिवारसँगै फिल्म हेर्न पुगेकी थिइन् ।

दृष्टीविहिनले हेरे फिल्म

ललितपुरस्थित लाविम मलमा दुई जना दृष्टीविहिनले फिल्म हेरेका छन् । उनीहरूले गत मंगलवार फिल्म हेरेका हुन् । फिल्म हेरिसकेपछि उनीहरूले निर्माण टिमसँग खुसी व्यक्त गरे । फिल्म हेर्ने रहरले आफूहरू दुई जना मात्र आएको बताएका थिएँ ।

साहित्यकारहरूलाई मन परेको फिल्म

महापुरूषलाई साहित्यकारले पनि उत्तिकै मन पराएका छन् । फिल्म हेरिसकेपछि उपन्यासकार अमर न्यौपानेले फिल्म भित्र विधुरको कथा र व्यथा रहेको उल्लेख गरेका छन् । ‘कथाव्यथालाई असाध्यै कलात्मक तरिकाले घटनाक्रम र संवाद मिलाएर प्रस्तुत गरिएको छ । पटकथा र संवादमा असाध्यै मिहिनेत गरिएको छ । कलाकारहरुको अभिनयले मन हल्लाउँछ । जस्तो अभिनयमा पनि अब्बल हरिवंश आचार्यको आँखामा पीडाको अभिनय सबैभन्दा शसक्त छ । उहाँको अभिनयको शक्ति आँखामा देखिन्छ’, साहित्यकार न्यौपानेले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले निर्देशक भट्टराईलाई बलिउड निर्देशक राजकुमार हिरानीको शैली फिल्म तयार गर्न सक्ने निर्देशक भन्दै प्रसंसा गरेका छन् ।

फिल्म हेर्दा आफ्नो मनमा गुम्सिएको भावलाई व्यक्त गरेको पाउँदा भावनात्मक भएको लेखक अश्विनी कोइरालाले उल्लेख गरेका छन् । फिल्म हेरेपछि सामाजिक सञ्जाल मार्फत उनले आफू एकल पुरूष रहेको र फिल्मले जीवन बाच्ने हिम्मत दिएको लेखेका छन् । ‘आफ्ना दु:खलाई आफूले जानेको पेसामार्फत भुलाउन सकिन्छ कि भनेर रातोदिन त्यसैमा खटिरहने एकलकाँटे लेखक-सम्पादक हुँ । फिल्म हेरिरहँदा मेरा आँखा रसाइरहे । मैले आफैंलाई बढी हेरिरहेँ’, कोइरालाले उल्लेख गरेका छन् ।

कलाकार मनोज गजुरेलले पनि फिल्मको तारिफ गर्दै हेर्न सिफारिस गरेकाछन् । ‘एकल बाबाका कथा, ब्यथा, त्याग र योगदानलाई सुन्दर ढंगले पस्कने टीमलाई बधाई । फिल्म हेरुन्जेल फिल्मको कथा बोलिरहेको थिएन, हाम्रै भोगाई ब्यक्त भईरहेको थियो । मन र मस्तिष्कलाई एउटै डोरोमा बाँध्नु भएकोमा निर्देशक प्रदीपजीलाई बधाई’, कलाकार गजुरेलले लेख्नुभएको छ ।

प्राप्त यस्ता प्रतिक्रियाले आफूहरूलाई थप दायित्व बोध भएको लेखक समेत रहेका निर्देशक भट्टराईले बताए । ‘हामी प्रति बढिरहेको विश्वासले झनै दायित्व थपेको महसुस भएको छ । हाम्रै सब्जेक्टलाई कलात्मक र व्यसायिक ढंगले भन्न सकिन्छ । त्यहिँ प्रयास हो महापुरूष’, निर्देशक भट्टराईले भने । कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ आफ्नो टिमको पछिल्लो कामहरू मार्फत विश्वास गरेर हलसम्म आएका दर्शकहरूको खुसीले थप उर्जा प्रदान गरेको बताए । उनी आफ्नो टिमसहित दाङ र बुटवलसँगै मोफसल यात्रामा छन् । नेपालगन्जबाट सुरू भएको मोफसलमा दर्शक भेटघाट चितवनसम्म चल्नेछ ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षक मार्फत पिता र एलकपुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा अमित श्रेष्ठ , रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

कमेन्ट गर्नुहोस्