फिल्म । सुगम पोखरेलद्वारा सिर्जित सुपरहिट गीत ‘सम्हालिन्छ कहिले मन’को सिनेम्याटिक संस्करण सार्वजनिक भएको छ । सुदर्शन थापा निर्देशित सोही नामको फिल्मको शीर्ष गीत सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरियो । फिल्मको पटकथासँग रुपान्तरण गरिएको गीतमा स्वर पनि पोखरेलकै छ । जेम्स प्रधानकै संगीत रहेको गीतको शब्द रचना सुयश भट्टराईको छ ।
सुदर्शनले यसअगाडी पनि सुगमकै गीतको बोलबाट मेरो एउटा साथी छ , के यो माया हो , म यस्तो गीत गाउँछु लगायतका फिल्म तयार गरिसकेका छन् । फिल्म ‘सम्हालिन्छ कहिले मन’को शीर्ष गीतमा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन फिचर्ड छन् । त्रिकोणात्मक प्रेम भाव प्रस्तुत गर्ने गीतको दृश्यलाई बेलायतको रमणीय स्थानमा कैद गरिएको छ ।
भदौ १७ गते रिलिज तयारीमा रहेको फिल्ममा सरोज खनाल, धीरेन शाक्य र गौरी मल्लको समेत मुख्य भूमिका छ । एबी इन्टरनेसनलको प्रस्तुतिमा भिक्टर सिनेमा लिमिटेडले फिल्म निर्माण गरेको हो ।










