‘एक्टर’ र ‘एक्टर : टेक वन’ को विवाद अदालतमा

फिल्म । प्रदर्शनरत फिल्म ‘एक्टर’ र प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वन’ बीच नामलाई लिएर उत्पन्न विवाद अदालतसम्म पुगेको छ । मुद्दाको अन्तिम किनारा नलागेसम्म माघ १६ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न माग गर्दै ‘एक्टर’ फिल्मका निर्माताले जिल्ला अदालत काठमाडौंमा रिट दायर गरेका छन् ।

दायर रिटमा प्रतिलिपि अधिकार बमोजिम कार्वाही गरि उचित क्षतिपूर्ति उपयुक्त आदेश माग गरिएको छ । ‘एक्टर’ चलचित्रका प्रस्तोता नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फबाट सम्राट थापाले अदालतमा मुद्दा हालेका हुन् ।

थापाले ‘एक्टर : टेक वन’ ले छलफल गर्न नचाहेको जनाएका छन् । ‘एक्टर’ फिल्मको पछिल्लो पत्रकार सम्मेलनमा निर्माता मध्येका एक मनोहरी थापाले चलचित्र विकास बोर्डमा छलफल गर्न प्रयास गरिएता पनि ‘एक्टर : टेक वन’ ले व्यस्तता देखाएर पन्छिएको आरोप लगाएका थिए । सोही कारण आफूहरू अदालतसम्म पुग्न बाध्य भएको निर्माता थापाले बताएका छन् ।

रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी अदृत फिल्म्स र मोती फिल्म्सलाई विपक्षी बनाइएको छ । फिल्मको नाम हुबहु चोरी गरेर मौलिकजस्तो देखिने गरि कानूनी प्रावधान समेत छली नाम र कथावस्तु प्रयोग गरेर गैरकानूनी कार्य गरेको आरोप रिटमा लगाइएको छ ।

साथै, रिटमा ‘एक्टर : टेक वन’लाई कुनैपनि विधि, पद्दति (चलचित्रघरमा, डिजिटल माध्यममा, टेलिभिजनमा) कहिँ कतै प्रदर्शन नगर्नु नगराउनु भनि रोक्काको आदेश समेत जारी गरि पाऊँ भन्ने माग गरिएको छ । दुबै पक्षलाई छलफलका लागि १५ गते अदालतमा बोलाइएको छ । आफ्नो कम्पनीलाई आगामी दिनमा एक्टरको श्रृंखला निर्माणको अनुमति दिन समेत भनिएको छ ।

कमेन्ट गर्नुहोस्