फिल्म । निर्देशक मदन घिमिरेले आफ्नो फिल्मलाई अन्याय परेको बताएका छन् । आफ्नो फिल्म ‘एक्टर’ सँग मिल्दोजुल्दो नाम ‘एक्टर: टेक वान’ निर्माण इजाजत दिएर चलचित्र विकास बोर्डले आफूसहित आफ्नो टिमलाई अन्यान गरेको उनले बताएका हुन् । निर्देशक घिमिरेले उस्तै नाममा फिल्म बनाउन दश वर्षको ग्याप हुनुपर्ने भएता पनि बोर्डले त्यसलाई पालना नगरेको बताए ।
उनले भने,‘यसअगाडिका बोर्ड अध्यक्ष भुवन केसीले निर्माण इजाजत दिएर हामीलाई अन्याय गरेका हुन् । अहिलेका अध्यक्ष दिनेश डिसीज्युको रोहवरमा छलफल गर्न पनि खोजेका हौँ । तर, अर्को पक्षले हामीलाई वे-वास्ता गर्यो । कानून भन्दा माथि व्यक्ति भएका छन् ।’
निर्देशक घिमिरेले अर्को फिल्म निर्माण समूहले सामान्य मानवीयता पनि नदेखाएको आरोप लगाए । ‘अब मैले छक्का पञ्जा टेक वान भनेर वा उस्तै मिल्दो नाम लिएर फिल्म बनाउन मिल्छ ? बोर्डले हामीलाई इजाजत दिन्छ त ? हामीलाई अन्याय परेको छ । फिल्मकर्मी बीच समानता छैन भन्ने यो एउटा राम्रो उदाहरण हो’, निर्देशक घिमिरेले भने ।
यस फिल्ममा प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारले अभिनय गरेका छन् । यससँग मिल्दो नाम रहेको ‘एक्टरः टेक वान’ लाई राजन भुसालले निर्देशन गरेका हुन् ।