चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान

फिल्म । चलचित्र पत्रकार सङ्घ नेपालले आफ्नो २६औँ वार्षिकोत्सवको अवसर पारेर राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान, पुरस्कार वितरण, सिनेमा संवाद र मिडिया मन्थन कार्यक्रम आयोजना गरेको छ । जेठ ७ गते स्थापना दिवस मनाउँदै सङ्घले सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

पत्रकार ध्रुव लम्साललाई नगद ५५,५५५ रुपैयाँसहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत २०८२’, विष्णु सुवेदी र नरेन्द्र बस्नेत (कोशी) लाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८२’ प्रदान गरेको छ ।

यसैगरी, ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८२’ बाट जीवनकुमार पराजुली र वर्षा बस्नेत पुरस्कृत भए । यो पुरस्कारमा जनही ५१,००० नगद समावेश छ । रश्मी थापालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार-२०८२’ र तुलसी प्रसाद निरौला (कोशी) लाई ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार – २०८२’ प्रदान गरियो । यी दुवै पुरस्कारको राशि जनही २५,००० रहेको छ ।

पुरस्कार वितरण समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता शिव श्रेष्ठ, अभिनेत्री गौरी मल्ल, बसुन्धरा भुषाल, सङ्घका पूर्वअध्यक्ष विदुर गिरी, शान्ती प्रिय, दिनेश सिटौला लगायत सहभागी थिए । सङ्घले बिहीबार सिनेमा पर्यटन महोत्सव, कार्यशाला, मिडिया मन्थन, सिनेमा संवाद र अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै राष्ट्रिय भेला सम्पन्न गरेको छ ।

कमेन्ट गर्नुहोस्