फिल्म । यसवर्षको प्रतिक्षित फिल्म मध्येको एक ‘पशुपति प्रसाद २ : भष्मे डन’ फूलपातीबाट प्रदर्शन हुँदैछ । शनिवारदेखि प्रदर्शन हुने फिल्मले दसैँको लाभ उठाउने देखिएको छ । मल्टिप्लेक्सले खुलाएको अधिकांस सोमा दर्शकको चाँप देखिएको छ । टिकट अग्रिम बिक्रि भएको छ । मंगलबार अधिकांश मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म खुलेको अग्रीम टिकट बुकिङ बुधबार साँझसम्म धेरै शोहरु सोल्ड आउट भएका थिए ।
सिनेमालाई मल्टीप्लेक्सहरुले उच्च शो प्रदान गरेका छन् । देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले सिनेमालाई आफ्नो देशभरको स्टेशनमा ६३ शो बाँडेको छ । क्यूएफएक्समा बुकिङ खुलेसँगै सिनेमाको टिकट आक्रामक रुपमा बिक्री भैरहेको छ ।
बुकिङको ट्रेन्ड हेर्दा शुक्रबारसम्ममा क्यूएफएक्सअन्तर्गत काठमाडौंका प्रायः हलमा सिनेमाको टिकट हाहाकार हुनसक्ने देखिन्छ । यो अवस्थामा दुई विदेशी सिनेमाको शो कटाएर पनि ‘ पशुपति प्रसाद २:भष्मे डन’लाई दिनपर्ने दबाब सिर्जना हुनसक्छ । अधिकांश शोमा तीव्र रुपमा टिकट बिक्रि भैरहेको देखिन्छ । सिनेमाले मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म ३०० बढि शो पाएको छ ।
बहुप्रतिक्षित सिनेमामा स्वस्तिमा खड्का, विपिन कार्की, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।
टुकी आट्र्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।
व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।
वितरक करण श्रेष्ठले सिनेमाले दुई करोड भन्दा बढीको व्यापार पहिलो दिनमा गर्ने बताए । उनले भने,‘अहिले टिकट बिक्री भईरहेको आधारमा दुई करोड माथिको व्यापार पहिलो दिनमा गर्नेमा विश्वस्त छौँ । यद्यपि तथ्याङ्क भने शनिवार नै भन्न सकिन्छ ।’