फिल्म । गत पुस ४ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ आजबाट दोस्रो हप्तामा प्रवेश गरेको छ । फिल्म दोस्रो हप्तामा प्रवेश गरेसँगै निर्माण टिमले सुपरस्टार नेवारी गायक रोजमान महर्जनको स्वरमा भजन गीत ‘धन्य धन्य लोकेश्वर’ सार्वजनिक गरेको छ ।
दर्शकबाट उत्कृष्ट ‘वर्ड अफ माउथ’ पाइरहेको फिल्मले दोस्रो हप्तामा पनि व्यापारमा वृद्धि हुने विश्वास निर्माण टिमले लिएको छ। पहिलो हप्ता उत्साहजनक रहेको भन्दै डेब्यु निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले दोस्रो हप्ता अझै सकारात्मक हुने अपेक्षा व्यक्त गरे। उनका अनुसार दर्शकलाई केवल मनोरञ्जन मात्र नभई सन्देशमूलक फिल्म देखाउने सपना सफल भएको निर्माण टिमको दाबी छ।
आध्यात्मिक भाव समेटिएको उक्त भजन गीत शुक्रबार सार्वजनिक गरिएको हो। गीतमा गायक रोजमान महर्जनसँगै महिला स्वर रत्न शोभा महर्जन र दीपा महर्जनको स्वर रहेको छ भने संगीत संयोजन सुरेन्द्र श्रेष्ठले गरेका छन्।
यस फिल्ममार्फत अभिनेता गणेश उप्रेतीले नौ वर्षपछि दमदार कमब्याक गरेका छन्। उनको उपस्थितिले अघिल्लो पुस्ताका दर्शकलाई समेत हलसम्म आकर्षित गरिरहेको निर्माण पक्षको विश्वास छ। फिल्ममा गणेश उप्रेतीसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला र प्रियना आचार्य (मुन्नी) लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा देखिनेछन्।
निर्देशक अर्जुन घिमिरे स्वयंको कथा रहेको यस फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले अभिनयमा डेब्यु गरेका छन्। डेब्यु अभिनेता विमोचनको अभिनयको दर्शकले खुलेर प्रशंसा गरिरहेका छन्। जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनीकी छोरी हुन्। बाल कलाकारका रूपमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ।
फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन्। अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको फिल्मको छायाङ्कन बुद्ध थापाले गरेका छन्।नागराज इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव तथा नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तुका रूपमा प्रस्तुत गरेको छ। साथै, एक इमानदार कर्मचारी र बाबुको संघर्षको कथा पनि फिल्मले समेटेको छ।
फिल्ममा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह-निर्माताका रूपमा रहेका छन् भने लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेका छन्।










