‘महानगरमा भारतीय फिल्म निषेध रहन्छ’ : बालेन्द्र

देश । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले देशको सार्वभौमिकता र स्वाधीनताको विषयमा सम्झौता नगर्ने उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्,’‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको वुझिन्छ । यसका लागि जुनसुकै सजायँ भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

गत सोमबारदेखि महानगरमा भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाईएको छ । ‘आदिपुरुष’ मा ‘सीता भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद रहेको थाहा पाएपछि प्रमुख शाहले त्यसलाई मूल संस्करणमै सुधार्न तीन दिनको समय दिएका थिए । यद्यपि सो समयमा उक्त चलचित्रका लेखकले गल्ति स्विकार्नुको सट्टा नेपाललाई समेत भारतको अंश रहेको प्रतिक्रिया दिए ।

यद्यपि, नेपाल चलचित्र संघले बुधवार उच्च अदालत पाटनमा निषेधाज्ञा हटाउन रिट दायर गरेको थियो । आज उच्च अदालतले महानगर भित्र रहेका चलचित्र भवनमा प्रदर्शनमा रोक नलगाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

कमेन्ट गर्नुहोस्