फिल्म । सौगात मल्ल राम्रो अभिनेतामा पर्छन । फिल्म ‘लुट’ मा निर्वाहा गरेको ‘हाकु काले’ को चरित्रले अभिनेता मल्लको भाग्य नै बदल्यो । उनले उपनाम पाए । त्यसपछि उनको क्रेज बढ्यो । यिनै सौगात अभिनय त राम्रो गर्छन् तर पछिल्लो समय फिल्ममा जीविकोपार्जनकै लागि त गरिरहेका छैनन् भने प्रश्न पनि उठ्ने गरेको छ । उनले क्वालिटी भन्दा पनि संख्यामा जोडी दिए भन्ने प्रसस्तै छन् । जसलाइ उनका फिल्मले पनि प्रस्ट्याउने गरेको छ । यिनै सौगात अभिनित फिल्म ‘माछा माछा’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।
फिल्ममा उनले एक बेरोजगार युवाको भूमिका निर्वाह गरेका छन् । ट्रेलर हेरेर धेरैले फिल्मको बारेमा आफ्नो मानसिकता बनाइसकेका छन् । सौगात पनि फिल्म राम्रो बन्न अभिनयसँगै स्क्रिन प्ले उत्तिकै महत्वपूर्ण हुनेमा जोड दिन्छन । ‘कथावस्तुसँगै स्क्रिनप्लेले नै फिल्मको खाका तयार गर्छ त्यसैले अब लेखनमा मेहेनत गर्नु निकै जरुरि छ’ उनले भने । उनी अगाडि भन्छन्, ‘स्क्रिनप्ले राम्रो छ भने सामान्य कथामा बनाइएको फिल्म पनि राम्रोे हुन्छ । नभए, एउटा कलाकारले जति नै ज्यान दिएर अभिनय गरे पनि फिल्म राम्रो हुँदैन ।’
फिल्मको व्यापारिक सफलता र असफलताले एउटा कलाकारको करिअरमा ठूलो असर पार्ने सौगातको बुझाइ छ । फिल्म सफल भएको खण्डमा करिअरलाई अगाडि बढाउन मद्दत पुग्ने उनी बताउँछन् । तर, उनी आफू अभिनीत फिल्म सफल र असफल जे भए पनि दर्शकको माया र साथ पाएकोमा खुसी छन् । राम्रो फिल्म दिन नसकेकोमा भने उनी दर्शकसँग ‘माफी’ माग्छन् । माछा माछाको विषयमा कुरा गर्दा ‘टिम र स्क्रिप्ट दुबै राम्रो भएपछि फिल्म गरेको हुँ । फिल्मले उठाएको विषयवस्तुले दर्शकलाई मनोरञ्जन दिन्छ भन्ने विश्वास छ,’ उनले भने ।
फिल्ममा सौगातसँगै विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । तीन बेरोजगार युवाले पैसा कमाउन गर्ने दौडधुपमा फिल्म आधारित रहेको बताईएको छ ।
फिल्मलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् भने , यसलाई शिवराम श्रेष्ठले फिल्म खिचेका हुन् । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘माछा माछा’ को सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी छ । फिल्ममा दयाहाङ अतिथी भूमिकामा छन् ।