दर्शक भेट्न हल पुगे ‘डिग्री माइला’

फिल्म । रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘डिग्री माइला’ लाई दर्शकले रुचाएका छन् । नयाँ वर्षको अवसर पारेर चैत ३० गतेदेखि रिलिज गरिएको फिल्मको विषयमा प्रतिक्रिया लिन अभिनेता दयाहाङ राई, विजय बराल, कमलमणि नेपाल, अभिनेत्री आँचल शर्मा, निर्माता मणिराम पोखरेलसहितको टिम विभिन्न हलमा पुगिरहेको छ ।

देशभरका हलमा उच्च शोसहित रिलिजमा आएको फिल्म ‘डिग्री माइला’ हेरेका दर्शकले रुचाएको अभिनेता राईले बताए । ‘यो पात्रलाई समाजबाट टिपेर नाटक र फिल्ममा ल्यायौँ । यसले अहिलेको विधमान शिक्षा प्रणालीको विषयमा प्रश्न उठाएको छ । डिग्री माइलाहरू किन छन्, भन्ने प्रश्नले सम्बन्धित निकायलाई समाधानतर्फ ध्यान दिन बाध्य बनाउँछ भन्ने आशा छ’, अभिनेता राईले भने ।

उनले फिल्मले समाधान दिने नभई समाजमा रहेको स्थितिलाई चित्रण गर्ने बताए । दयासँगै रहेकी अभिनेत्री शर्माले हल भ्रमणका क्रममा पाएको प्रतिक्रियाले उत्साहित बनाएको बताइन ।

फिल्ममा बुद्धि तामाङ, प्रकाश घिमिरे, अनिल सुब्बा, माओत्से गुरुङ, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ । यो फिल्मले डिग्री पढेर पनि बेरोजगार रहेको एक गफाडी युवाको कथा भन्छ । यस फिल्मले प्रिमियरमार्फत राम्रो प्रतिक्रिया बटुलेको छ ।

कमेन्ट गर्नुहोस्