
फिल्म । प्रदर्शनको दसौँ दिनमा मोफसलका दर्शक भेट ‘पुजार सार्की’ टिम नेपालगञ्ज पुगेको छ । उक्त टोलिमा अभिनेता पल शाह, निर्देशक दिनेश राउत लगायत रहेका छन् । नेपालगञ्जमा उक्त टोलीलाई सिनेरोयल र क्यूएफएक्स सिनेमामा स्वागत गरिएको छ । नेपालगञ्जका हलहरू हाउसफुल भएपछि पलसहितको टोली दिनभर त्यहि रहने भएका छन् ।
आफूले सबै दर्शकलाई भेटेरै मात्र यहाँबाट पलले फर्किने बताए । उनले सिनेरोयलमा रहेको राती ९:१५ बजेको अन्तिम शोका दर्शकलाई समेत भेट्ने बताए । आज सिनेरोयलमा प्राप्त आठ वटा शोमा मध्यान्हसम्मका सबै शो हाउसफुल भएका छन् । मध्यान्हपछिका शोहरू पनि लगभग सबै टिकट बिक्री भइसकेको हलले बताएको छ ।
सिनेरोयलमा आयोजित पत्रकार भेटघाटमा अभिनेता शाहले सकेसम्म नेपाल र विदेशमा रहेका सबै दर्शकमाझ पुग्ने आफ्नो चाहना रहेको बताए । ‘अहिले हामी पश्चिम नेपालका दर्शक भेटिरहेका छौँ । बिस्तारै हामी अन्य स्थानहरूमा पनि पुग्नेछौँ’, अभिनेता शाहले भने ।
गत बुधवार आदर्शनगरस्थित सिनेरोयल हलमा नेपाली चलचित्रको रेकर्ड नै ब्रेक भएको हलका सिओओ रितेश श्रेष्ठले बताए । दश महिना अघि सञ्चालनमा आएको यो हल गत बुधवार ‘पुजार सार्की’ले प्राप्त गरेको छ वटा शो मा सबै टिकट बिक्री भई रेकर्ड राखेको श्रेष्ठले बताए ।
अभिनेता शाह, निर्देशक राउतसहितको ‘पुजार सार्की’ टिम भोली आइतबार दाङको भिएफएक्स सिनेमा हल पुग्नेछ भने सोमबार धनगढीस्थित एसटिएस सिनेमा हलमा पुग्ने तालिका रहेको छ ।

प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य लगायतको अभिनय रहेको फिल्ममा अन्तरजातीय प्रेम र त्यसका लागि गरिने सङ्घर्ष देखाईएको छ ।
दिनेश राउतको निर्देशनमा तयार भएको फिल्मका लेखक विकास सुवेदी र निर्माता सुवास भुसाल हुन् । जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असरलाई प्रस्तुत गरिएको फिल्ममा तारा शर्मा, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ।
किङ्गडम नेटवर्कको ब्यानरमा बनेको फिल्म नेपालमा आरआर फिल्मस र अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गरिरहेको छ । डिजिटल वितरण ओएसआर डिजिटलले गरेको छ ।
फिल्ममा हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द्र बराल र मुना थटालले स्वर दिएकाछन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।
