फिल्म । गायक हुँदै अभिनेता बनेका प्रकाश सपुतले आफ्नो दोस्रो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को विषयमा धारणा सार्वजनिक गरेका छन् । फिल्मको ढिला डबिङ गर्नु, ट्रेलर र टिजर ढिला सेयर गर्नुले नै उनको मनमुटाव निर्माण पक्षसँग रहेको सङ्केत गरेको थियो । यसविषयमा उनी आफैँले आधिकारिक रुपमा धारणा राखेका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘पूर्ण बहादुरको सारङ्गी’ आफू निर्देशित फिल्म ‘वसन्त’ पछि सार्वजनिक प्रदर्शनमा ल्याउने शर्तमा अभिनय गरेको उल्लेख गरेका छन् ।
‘परदेशी २ बाटै हिरो भन्ने रहर पुरा गरेको थिएँ, धेरै अफर पनि आए । तर, मैले आफ्नो फिल्म नै प्रदर्शनमा ल्याउने वाचा विभिन्न सहयोगी र सहकार्य भएकालाई गरेको थिएँ । सोही कारण मैले अन्य फिल्म नगरेर ‘पूर्ण बहादुरको सारङ्गी’ मात्र गरें । हाम्रो कागजी सम्झौता नै भएको थियो, तर फिल्म आउँदै छ । म छायांकनमा व्यस्त भएकाले प्रचारप्रसारमा सहभागी हुन् सक्दिन’, प्रकाशले उल्लेख गरेका छन् ।
फिल्ममा उनले अभिनेता विजय बरालको छोराको भूमिका निभाएका छन्, जो गन्धर्व समुदायका हुन् । ‘फिल्म अचानक प्रदर्शन हुने भएपछि म सरप्राइज भएँ । मसँग लडी बस्ने इनर्जी भएन । मैले केही भन्न सकिनँ’ , प्रकाशले लेखेका छन् । प्रकाशसँग खटपटको विषयमा निर्माता विनोद पौडेलले पनि सामाजिक सञ्जालमार्फत आफ्नो प्रष्टीकरण दिएका छन् । ‘फिल्मको रिलिज मितिलाई लिएर प्रकाशसँग छलफल गरिएको थियो’, निर्माता पौडेलले उल्लेख गरेका छन् ।
उनले सोही पोस्टमार्फत प्रकाशसँग माफीसमेत मागेका छन् ।