फिल्म । अभिनेत्री विपना थापाले आफूले आफूलाई कलाकारको रुपमा मात्र चिनाउन चाहेको बताएकी छिन् । केही वर्ष भारतमा गृहणीकै रुपमा व्यस्त भएकी अभिनेत्री पछिल्लो समय पुनः अभिनयमा सक्रिय छिन् । उनले अभिनयमा सक्रियता बढाएसँगै उनलाई आमाको भूमिका अफर भईरहेका छन् । उनले अभिनय गरेको दुई फिल्ममा नै उनले आमाको भूमिकामा आफूलाई प्रस्तुत गरिन् । कुनै समय लोकप्रिय अभिनेत्रीको रुपमा नेपाली फिल्ममा देखिएकी विपनाले आफूलाई हिरोइन भन्दा पनि कलाकारकै रुपमा अगाडि बढाउने गरेको बताएकी छिन् ।
‘मैले आमाको भूमिकामा पहिला नै अभिनय गरिसकेकी छु । वास्तविक जीवनमा आमा बनेपछि झनै भावनात्मक रुपमा जोडिएर उक्त पात्रलाई निर्वाह गर्न सकेकी छु जस्तो लागेको छ । मैले आफूलाई जहिले पनि कलाकारकै रुपमा चिनाउन खोजे, त्यसैले मलाई अहिले आमा बन्दा केही लागेको छैन । झन् सबैको माया पाएकी छु’, उनले भनिन् ।
विपनाले आफ्नो लोकप्रियताकै समयमा ‘त त साह्रै बिग्रिस नि बद्री’ मा नकारात्मक भूमिका र ‘माइली’ मा सोझो गाउँले युवतीका रुपमा प्रस्तुत भएको प्रसंग सुहाउँदै आफ्नो कलाकारिता यात्रा हिरोइन केन्द्रीत नभई कलाकारिता केन्द्रीत रहेको प्रस्ट्याईन् । निर्देशक चन्द्र पन्तको निर्देशन, कथा तथा पटकथामा बनेको फिल्ममा विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीले मुख्य भूमिका निर्वाह गरेका छन् । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मको छायांकन निर्देशक नवराज उप्रेतीले गरेका छन् । फिल्मको संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको योगदान रहेको छ। गीतहरूको कोरियोग्राफी गम्भीर बिष्ट र दिलीप ओखेडाले गरेका छन् ।
अभिमन्यु निरवीले लेखेको फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यु निरवी र चन्द्र पन्तको सहकार्य रहेको छ । फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने कार्यकारी निर्माता करण सिंह रसाली हुन् । फिल्मको ट्रेलर र टिजर साहिल खानले सम्पादन गरेका छन् ।










