सङ्गीत । चर्चित भारतीय पार्श्वगायक विनोद राठौर र ९० को दशकमा ‘मेरी ओकिली…’, ‘झ्याबाट हेर…’ जस्ता गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रियता कमाएका गायक अनिस ‘ओकिली’ सापकोटा आगामी फेब्रुअरी १३ मा नेपालमा गुञ्जिने भएका छन् । प्रणय दिवसको पूर्व सन्ध्यामा उनी दुईले आफ्ना प्रेमील गीतमार्फत दर्शकलाई मन्त्र मुग्ध बनाउने छन् । म्याड इन्टरटेनमेन्ट एण्ड म्यानेजमेन्टले भारतीय गायक राठोर र नेपाली गायक ओकिलीलाई एकसाथ प्रस्तुत गर्न लागेको हो ।
‘आँखों में बसा लूँगा’, ‘नैना क्यूँ भर आए’, ‘बाज़ीगर ओ बाज़ीगर’, ‘दिल ने ये कहा है दिल से’ जस्ता हिन्दी भाषाका लोकप्रिय गीतका गायक राठौर नेपालमा हुने सांगीतिक कार्यक्रमका लागि उत्साहित छन् । आयोजकका अनुसार उनको आगमनमा काठमाडौंमा आयोजना हुने विशेष लाइभ म्युजिक नाइटले स्मरणीय हुनेछ ।
नेपालका संगीतप्रेमी बीच राठौर विशेषतः ९० को दशकका बलिया भावनात्मक तथा रोमान्टिक गीतका कारण निकै चर्चित छन् । नेपाली दर्शक-श्रोतासँगको निरन्तर प्रेम र समर्थन नै आफ्नो नेपाल यात्राको कारण भएको राठौरले बताएको आयोजकले जनाएका छन् । उनले फेब्रुअरी १३ को सन्ध्यामा ललितपुरस्थित प्लाजामा आफ्नो प्रस्तुती दिनेछन् ।
उनीसँगै ९० को दशकमा ‘मेरी ओकिली…’, ‘झ्याबाट हेर…’ जस्ता गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रियता कमाएका गायक अनिस ‘ओकिली’ सापकोटाले आफ्नो प्रस्तुती दिनेछन् । नेपाली-अमेरिकी गायक, संगीतकार र संगीत निर्माता ओकिलीले दुई दशकभन्दा बढी समयदेखि दक्षिण एशियाली र विश्वव्यापी संगीत क्षेत्रमा योगदान पु¥याउँदै आएका छन् । पेशागत रूपमा उनी ‘ओकिली’ नामले चिनिन्छन् ।
नेपाली दर्शकमाझ र विश्वभरि छरिएका नेपाली डायस्पोरामा व्यापक लोकप्रियता पाएका गायक ओकिलीले आफ्नो पछिल्लो जन्मदिनको अवसर पारेर नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका थिए ।
नेपाली-अमेरिकी संगीतकार ओकिलीले १९९० को दशकमा नेपालमा ‘ओकिली’ ब्यान्डको संस्थापक सदस्यका रूपमा संगीत यात्रा सुरु गरेका थिए । ‘गुलाबी जाडो’, ‘जुनेली रात’, ‘तिम्रो बानी ब हो’, ‘तिमी नै राम्री’ र पछिल्लो ‘सिमला भुवा’ मार्फत उनले विश्वभरका नेपाली दर्शकमाझ पहिचान बनाएका छन् ।
हाल अमेरिकास्थित क्यालिफोर्नियाको स्याक्रामेन्टोमा बस्दै आएका उनी आधुनिक नेपाली पप र भावनात्मक कथावस्तुको मिश्रणमा परिचित छन् । संगीत र संस्कृतिको योगदानका लागि उनले नोबेल पुरस्कार विजेता डा. चार्ल्स टाउन्सद्वारा प्रदान गरिएको ‘युथ अचिभमेन्ट अवार्ड’ प्राप्त गरेका छन् । दुई दशक लामो सांगीतिक यात्रामा उनी निरन्तर नयाँ रचना र उत्पादनमा सक्रिय छन्, जसले उनको छुट्टै पहिचान स्थापित गरेको छ ।










