फिल्म । फ्राइडे रिलिज अन्तर्गत आजदेखि दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । जसमा घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ र दीपक श्रेष्ठ निर्देशित ‘पर्खी बसेँ तिमीलाई’ प्रदर्शनमा आएको छ । आउँदो माघेसंक्रान्तिलाई लक्षित गर्दै प्रदर्शन आएका यी दुई फिल्म फरक फरक विधामा आधारित रहेका छन् ।
निर्माण टिमले चित्रा १० वर्षमुनिका बालबालिकाले सित्तैमा हेर्न पाउने घोषणा गरेका छन् । फिल्मले बाबुछोरीको मार्मिक कथा पेस गर्ने भएकाले निर्माण पक्षले यस्तो घोषणा गरेको हो । टिकट १० वर्ष मुनिका बालबालिका लागि निःशुल्क भए पनि अभिभावकका लागि भने शुल्क लाग्ने छ । यो सँगै ‘चित्रा’ नाम भएकाले सो नामको प्रमाण पेस गरेमा ३ वटा टिकट निःशुल्क पाउने छन् ।
फिल्म ‘चित्रा’मा बाबुले छोरी बचाउन गर्ने सङ्घर्ष मात्रै नभएर सम्बन्ध, मित्रता, पारिवारिक उतारचढाव लगायतका कुरा समेटिएको छ । यही फिल्मबाट सन्तोष अधिकारीले नेपाली रजतपटमा डेब्यु गरेका छन् । फिल्ममा डेब्यू अभिनेता सन्तोषका अलावा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको पनि अभिनय छ । महेश पौडेलको छायांकन रहेको ‘चित्रा’मा राजनराज सिवाकोटीको संगीत छ भने मनिष गौतमको पटकथा एवं संवाद लेखन छ ।
यसका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । यस्तै, फिल्मको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन् । फिल्ममा बनिश शाह र सन्देश शाहको संयुक्त सम्पादन रहेको छ।
फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् ।










