फिल्म । निर्माणाधीन फिल्म ‘महाराजधिराज’ मा अभिनेता आर्यन सिग्देल जोडिएका छन् । निर्देशक परिच्छेद सेनले निर्देशन गर्ने ‘महाराजधिराज’ मा यसअघि नै अभिनेता रमेश उप्रेती अनुबन्धित भएका थिए । त्यसअघि युवा स्टार पल शाहले फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने पक्का भएको थियो । अब यसै सूचीमा थपिएका हुन् आर्यन । निर्माण पक्षले जनाएअनुसार आर्यन फिल्मको महत्त्वपूर्ण भूमिकामा देखिनेछन् ।
आर्यन, रमेश र पल जस्ता लोकप्रिय कलाकारहरूको एकैसाथ आगमनले ‘महाराजधिराज’ को कलाकार समूहलाई निकै बलियो बनाएको छ, जसकारण दर्शकहरूमा फिल्मलाई लिएर उच्च अपेक्षा सिर्जना भएको छ ।
फिल्मको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । आर्यन सिग्देल फिल्ममा कस्तो भूमिकामा प्रस्तुत हुनेछन् भन्ने कुराले अहिले दर्शकहरूलाई थप उत्साहित बनाएको छ । आर्यनले ‘महाराजधिराज’ जस्तो प्रोजेक्टमा जोडिन पाउँदा खुशी व्यक्त गर्दै यो आफ्नो लागि फरक र दर्शकहरूका लागि नयाँ अनुभव हुने बताएका छन् ।
यसैबीच, फिल्ममा अर्का अभिनेता जय किशन बस्नेत पनि एक महत्त्वपूर्ण भूमिकामा देखिने निश्चित भएको छ । ‘महाराजधिराज’ को कथा निर्देशक सेन आफैंले लेखेका हुन् । यसअघि उनले निर्देशन गरेको फिल्म ‘प्रेमगञ्ज’ ले समीक्षकहरूबाट सकारात्मक प्रतिक्रिया पाएको थियो ।
फूलपातीको अवसरमा प्रदर्शन हुने यो फिल्मका प्रस्तुतकर्ता विराज बिष्ट हुन्, जसले यसअघि राष्ट्रिय पुरस्कार विजेता फिल्म ‘बुलाकी’ निर्माण गरिसकेका छन् । ‘महाराजधिराज’ का निर्माताहरूमा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् ।










