फिल्म । काठमाडौँमा गएको शुक्रबार सम्पन्न ‘किताब जात्रा’मा चलचित्र सम्बन्धी छलफल भएको छ । दोस्रो तथा अन्तिम दिन शुक्रबार ‘लाइट, क्यामरा, एक्सन’ शिर्षकमा सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराई, अभिनेताद्वय शिव श्रेष्ठ र दीपकराज गिरी तथा अभिनेत्री रेखा थापाले छलफल गरे । उक्त छलफलको सुरुआत नै अध्यनको विषयलाई लिएर भयो ।
अभिनेता दीपकराज गिरीले अध्यनको महत्वलाई सबैले बुझ्नु पर्नेमा जोड दिए । उनले आफ्नो कलाकारिताको सफलतासँग अध्यनलाई जोड्दै भने, ‘आज मैले पाउने प्रशंसामा लेखनको ठूलो महत्व छ । त्यो लेखन मेरो अध्यन वा शिक्षाकै देन हो । म राम्रो विद्यार्थी थिइन्, तर पढाइको महत्वलाई राम्रोसँग बुझेको छु । हरेक व्यक्तिको सफलतामा शिक्षाको ठूलो महत्व छ, हुन्छ । त्यसैले अध्यन जती गर्यो, त्यति नै राम्रो ।’
अभिनेता शिव श्रेष्ठले बाल्यकालमा धेरै विद्यालय फेरेको स्मरण गर्दै अहिले आएर शिक्षाको महत्व महसुस गरेको बताए । उनले भने, ‘मैले धेरै विद्यालय छाडे, किनकि मैले शिक्षामा ध्यान दिईन् । तर, अहिले म जुन काममा छु, राम्रोसँग पढेको भए अझैँ राम्रो गर्न सक्थे भन्ने लाग्छ । त्यसैले हामीले शिक्षालाई विचमै छाडेर करिअर भनेर मात्र पनि लाग्न हुँदैन ।’
अभिनेत्री रेखा थापाले पछिल्लो समय आफूले राजनीति भन्दा पनि कलाकारितालाई महत्व दिएको बताईन् । ‘आगामी निर्वाचनमा सहभागी हुने वा नहुने भन्दा पनि मेरो अहिलेको प्राथमिकता कलाकारिता नै हो । मैले दुई वटा चलचित्रको छायाङ्कन सके भने आफैँ निर्देशक रहने चलचित्र आगामी माघको पहिलो सातादेखि छायांकन गर्दैछु । त्यसकारण अहिले कलाकारितामै व्यस्त छु’, उनले भनिन् ।
सहजकर्ता नरेश भट्टराईले छलफलमा सहभागी भएका कलाकर्मीलाई साहित्य, चलचित्र र समाजका बारेमा विविध जिज्ञाशा राखेका थिए ।










