फिल्म । गत वर्ष भारतको सिक्किममा घोषणा भएको फिल्म ‘ग्रहण’ बाट विनय श्रेष्ठ अलग भएका छन् । उनी अलग भएसँगै ‘सानो संसार’ जोडी नम्रता श्रेष्ठ र विनयलाई पर्दामा एकसाथ हेर्न प्रतीक्षा लम्बिएको छ । जाडो सकिएलगत्तै सुटिङमा जाने तयारीमा रहेको फिल्म ‘ग्रहण’ मा विनयको स्थानमा अभिनेता दिव्यदेवलाई अनुबन्धित गरिएको छ । ‘चिसो एस्ट्रे’बाट दमदार उपस्थिति दर्ज गरेका दिव्यको केही समयअघि ‘हिजो आजका कुरा’ प्रदर्शनमा आएको थियो ।
‘ग्रहण’ फिल्मका निर्देशक राजिव गुरुङले विनयको ठाउँमा दिव्यदेवसँग कुरा लगभग फाइनल भएको पुष्टि गरे ।‘हो, विनयजीको ठाउँमा हामीले दिव्यदेवसँग काम गर्ने कुरा अगाडि बढाएका छौँ । यसमा दुवै पक्ष राजी छ,’ गुरुङले भने ।
कलाकारसँगै यो फिल्मको लोकेसनमा पनि परिवर्तन आउने भएको छ । निर्मातासमेत रहेको गुरुङले सुटिङका लागि सिक्किमको विकल्प खोज्ने क्रम जारी रहेको बताए । उनले सिक्किममा सुटिङ गर्दा फिल्मको बजेट धेरै हुने भएकाले कथावस्तुमा नै परिवर्तन गरी नेपालमा नै सुटिङ गर्ने गरी तयारी अघि बढिरहेको बताए । थ्रिलर श्रेणीको फिल्ममा सारुक ताम्राकारको पनि महत्वपूर्ण भूमिका रहनेछ ।










