१३ वटा हलमा ‘छक्का पञ्जा ३’ ले पार गर्यो ५१ औँ दिन

फिल्म । गत घटस्थापना देखि प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ३’ ले पनि सफलता पुर्वक प्रदर्शनको ५१ औँ दिन पार गरेको छ । असोज २४ देखि प्रदर्शनमा आएको फिल्मले उपत्यका र मोफसलमा १३ वटा हलमा लगातार प्रदर्शन हुदै ५१ औँ दिन पार गरेको हो । अघिल्लो सिरिजहरु छक्का पञ्जाले १०१ दिन र छक्का पञ्जा २ ले ५१ औँ दिन पार गरेका थिए । डिजिटल प्रविधि आएर लगातार तिन सिरिजले नै ५१ औँ दिन पार गर्ने फिल्ममा छक्का पञ्जा सिरिज नै पर्छ । यसको तिनै सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छिन । ‘डेब्यु फिल्मकै रिलिजले रेकर्ड नै बनायो’ दीपाश्रीले उत्साहित हुदै भनिन् ‘तिनै सिरिजले ५१ औँ दिन पार गर्यो , मेरो टिमसंगै मिडिया र दर्शक प्रति आभारी छु ।’ फिल्मले उपत्यकामा मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा , बिग मुभिज कमलपोखरी , एफ क्युब सिनेमा चुच्चेपाटी चाबहिल , बिजी मल बिएसआर गोंगबु तथा सिङ्गल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स प्रालि बाइपास बालाजु , गुण सिनेमा ग्वार्को , गङ्गा सिनेमा बालाजु , गोपी कृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा ५१ औँ दिन पार गरेको हो । यसैगरि मोफसल अन्तर्गत कालिका सिनेमा बुटवल , क्युएफएक्सकै जालमा नारायणगढ र बागेश्वरी नेपालगंज तथा विन्दवासिनी सिनेमा पोखरामा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो ।

‘छिटफुट रुपमा अन्य स्थानमा पनि प्रदर्शन भईरहेको छ फिल्म तर हामीले निरन्तर रुपमा प्रदर्शनमा आएका हललाई मात्र गणना गरेका हौ’ निर्माता मध्यका एक सुमन गिरीले बताए । साथै उनले ५१ औँ दिनको खुसियाली आइतवार साट्ने पनि बताएका छन् । ‘हामीले कार्यक्रम गरेर नै धन्यवाद दिदैछौ त्यसैले आइवार कार्यक्रम गर्दैछौ’ उनले ५१ औँ दिन पार गर्ने हललाई प्रमाण पत्र प्रदान गर्ने पनि बताए । फिल्मको नेपाल प्रदर्शनसँगै विदेश प्रदर्शन मार्फत पाएको प्रतिक्रियाले निर्माता तथा कलाकारसँगै कथाकार समेत रहेका दीपकराज गिरी पनि उत्साहित छन् ।

‘फिल्मले स्वदेश मात्र हौइन विदेशमा पनि राम्रो ब्यापार र प्रतिक्रिया बटुलेको छ’ हालै अष्ट्रेलियाको शो मा सहभागी हुदै नेपाल फर्किएका दीपक भन्छन ‘हामीले मात्र अर्थ आर्जन गरेनौ हाम्रो फिल्म किन्नेले कसैले घाटा बेहोर्नु परेन , यसले झनै उत्साह थपेको छ ।’ फिल्मले डायस्पोरा प्रदर्शनमा अधिकाँस स्थानमा बढी शो भएको रेकर्ड नै राख्न सफल भएको छ । ‘कन्टेन विथ कमेडी’ भनिएको छक्का पञ्जाको तेस्रो सिरिजलाई दर्शकसँगै समिक्षकले पनि रुचाएका थिए । अघिल्ला सिरिजको तुलनामा यसलाई सबैले प्रसंसा गरेका छन् । फिल्ममा दीपकसँगै जितु नेपाल , केदार घिमिरे , दीपिका प्रसाई , शिवहरी पौडेल , शिशिर बांग्देल , नीर शाह , किरण केसी , जयनन्द लामा लगायतको अभिनय रहेको छ ।

यसमा कार्यकारी निर्माताको रुपमा जितु नेपाल र केदार घिमिरे रहेकाछन् । अघिल्लो सेरिज झैँ यसमा पनि सुमन गिरी ‘भान्जा’ र तारा चन्द्र बजगाई ‘निशान’ निर्माताको रुपमा रहेका छन् । आमा सरस्वती मुभिजको प्रस्तुति रहेको फिल्मको निर्माणमा आइएमईले पनि सहकार्य गरेको छ । फिल्ममा कथा दीपकराज गिरीको रहेको छ भने संवादमा दीपकसँगै केदार घिमिरे , जितु नेपाल , यमन श्रेष्ठ रहेका छन् । फिल्ममा दीपक शर्मा र अर्जुन पोखरेलको संगीत रहेको छ । फिल्ममा रोशन श्रेष्ठको द्वन्द , कविराज गहतराज र प्रविन सिंहको नृत्य निर्देशन , पुरुषोत्तम प्रधानको छायाँकन , सुनयमान श्रेष्ठको मिक्सीङ्ग , सुजिल कर्माचार्यको पार्श्वसंगीत रहनेछ ।

कमेन्ट गर्नुहोस्