फिल्म । अशोक शर्मा पुराना फिल्मकर्मी हुन् । निर्माता , निर्देशक र कालाकारसंगै वितरकको पहिचान समेत स्थापित गरेका अशोक गत वर्ष ‘जय भोले’ मार्फत फिल्म निर्माण तथा निर्देशनमा फर्किए । उनि यतिबेला फिल्म ‘रातो टिका निधारमा’ को प्रदर्शनको तयारीमा जुटिरहेका छन् । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म उनका लागि निकै खास छ । किनकी यसैफिल्म मार्फत उनका छोरा अंकित शर्मा अभिनेताको रुपमा डेब्यु गर्दैछन् । उनले आफु यसैक्षेत्रबाट परिचित भएकोले आफ्नो सन्ततिलाई पनि यसमै ल्याएको बताए ।
उनले आफ्नो छोरा अंकित शर्मापछि छोरी कृति शर्मा पनि फिल्ममा आउन सक्ने संकेत गरे । ‘मैले छोरा र छोरीलाई फिल्मनगरीले दिएको देखाएको छु अब उनीहरुले यसलाई अझै सक्दो राम्रो बनाएर अगाडी बढ्नु पर्छ’ अशोक भन्छन् ‘छोरा अभिनयमा आइसक्यो अब छोरी पनि आउँन सक्छिन् तर यतिबेला उनि सिकाइको क्रममा छिन् ।’ कृतिले अमेरिकाबाट फिल्म सम्बन्धि अध्यन लिएकी छिन् भने अंकितले मलेसियाबाट लिएका हुन् । अशोकले आफु र आफ्नो सम्पूर्ण परिवार फिल्ममै रहेकाले पनि सहयोगको अपेक्षा राखेका छन् ।
एक समय ‘ट्रक ड्राइभर’, ‘अल्लारे’, ‘गरिब’, ‘मितिनी’ लगायतका एकसेएक फिल्म दर्शकमाझ पस्किएका निर्देशक अशोक शर्मा गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘जय भोले’ बाट १२ वर्षपछि फिल्म निर्देशनमा फर्किए । फिल्म वितरण कम्पनी ‘डिसीएन’ लाई स्थापित गर्न लामो समय फिल्म निर्माण र निर्देशनमा टाढा रहेका उनी अब प्रत्येक वर्ष फिल्म दर्शकसामु ल्याउने सोचमा छन् । अंकितले यसअघि अशोकलाई ‘जय भोले’ मा सहायक निर्देशक भएर सघाएका थिए । त्यसपछि उनले अभिनेताको रुपमा आफुलाई अगाडी ल्याउन मेहनत पनि गरेका छन् ।

‘अंकितले निकै मेहनत गरेको छ र उसले डेब्यु फिल्ममा गर्नु पर्ने काम गरेको छ जस्तो लाग्छ’ अशोकले भने । अंकितले आफुलाई प्रमाणित गर्ने अवसरको रुपमा यसलाई लिएका छन् । ‘म लक्की छु किनकी मैले चान्स पाए तर भोलि फिल्म रिलिज भएपछी मेरो करियरको डिसिजन दर्शकमै भर पर्छ’ अंकितले भने । उनले आफुले पाएको मौकालाई सक्दो सदुपयोग गरेको समेत जनाए । ‘मेरो बुवाको कारण मैले एक पटक मौका पाए तर घरिघरि मैले मौका पाउदिन त्यसैले सक्दो मेहनत गरेको छु’ अंकित आशावादी सुनिए । उनि फिल्म सम्बन्धि अध्यन गरेर मलेसियाबाट फर्किएका हुन् ।
अशोकले पनि अंकितमा सम्भावना देखेर नै डेब्यु गराएको बताए । ‘मेरो छोराछोरीले नै फिल्म सम्बन्धि अध्यन गरेका छन् तर मैले नेपालमै स्कोप हेर भनेर फर्केको हुँ’ अशोक भन्छन् ‘म आज जे छु यहि क्षेत्रको कारण छु त्यसैले मेरो सन्ततिले पनि यहि केहि गरूँन भन्ने छ ।’ फिल्ममा अंकितसंगै साम्राज्ञी राज्यलक्ष्मी शाह ,नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेकोछ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । यसमा कल्याणसंगै शम्भुजित बाँस्कोटाको पनि संगीत , बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहेको छ ।










