बोर्डमा भट्टराई

फिल्म । चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट गत साता निकिता पौडेलले राजिनामा दिएपछि यतिबेला उक्त पदमा को पुग्छन भन्ने चर्चा बढ्न थालेको छ । विभिन्न फिल्मकर्मीहरु बोर्डको अध्यक्ष पदको लागि आफु उपयुक्त रहेको भन्दै सञ्चारमन्त्रि तथा प्रधानमन्त्री कहाँ धाउन थालिसकेका छन् । तर अध्यक्ष पदका लागि नेकपा निकट फिल्मकर्मी तथा जनसाँस्कृतिक संघको तर्फबाट अध्यक्ष खगेन्द्र राईले संयुक्त रुपमा निर्माता तथा कलाकार केशव भट्टराईको नाम सिफारिस गरेका छन् ।

चलचित्र निर्माता संघको उपाध्यक्ष समेत रहेका भट्टराईलाइ लगभग अध्यक्ष हुनेमा दुइमत छैन । शनिवार भट्टराईको नाम सिफारिस भएपछी आइतवारबाट कानुनी प्रक्रिया अगाडी बढ्ने बुझिएको छ । कानुनी प्रक्रिया अनुसार छिटोमा ३ दिन वा २१ दिन भित्रमा बोर्डले नया अध्यक्ष पाउनेछ । निर्माता भट्टराई भने यसविषयमा तत्कालै केहि नबोल्ने बताउछन् । ‘म जिम्मेवारी लिन तयार छु तर यस विषय अहिले प्रतिक्रिया दिनु उपयुक्त नहोला’ निर्माता भट्टराई भन्छन् ‘साथीहरुले मेरो नाम सिफारिस गरिदिनु भयो , आभारी छु ।’

गत साताको आइतबार संचार तथा सूचना प्रबिधि मन्त्रालयले विभिन्न विभाग तथा बोर्डहरुलाई प्रगति विवरण पेश गर्ने गरि चौमासिक बैठक बोलाएको थियो । उक्त बैठकमा मन्त्रालय अन्तर्गतको सबै बोर्ड तथा विभागीय प्रमूखहरु उपस्थित हुदाँ चलचित्र विकास बोर्डबाट अध्यक्ष निकिता पौडेल अनुपस्थित थिईन । त्यस लगतै मन्त्री गोकुल बास्कोटाले उपस्थित नहुनुको स्पष्टिकरण माग गरेका थिए । स्पष्टिकरण माग गरेपछि अध्यक्ष पौडेलले प्रगति प्रतिवेदन सहित आफ्नो राजिनामा पनि पेश गरेकी थिईन् । राजिनामा पत्र बुधवार (२३ माघ) मन्त्री गोकुल बास्कोटाले स्विकृत गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्