फिल्म । दसैँको अवसर पारेर यही शुक्रबार (३० असोज)देखि प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा २’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ। झन्डै पाँच मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे संकेत गरेको छ। आमा र छोराबीचको सम्बन्धलाई केन्द्रमा राखिएको ट्रेलरमा प्रेम, पारिवारिक सम्बन्ध र श्रीमान्–श्रीमतीबीचको वियोगका प्रसंग समेटिएका छन्।
ट्रेलरको सुरुवाती दृश्यमा कुकुरको बच्चामार्फत आमा र सन्तानबीचको सम्बन्धलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ। त्यसपछि कथा आमाको खोजीमा छोराले गर्ने संघर्षतर्फ अघि बढ्छ। ट्रेलरको अन्तिम दृश्यमा पल शाह मानसिक सन्तुलन गुमाएको अवस्थामा देखिन्छन्। यसले फिल्मको कथावस्तु भावनात्मक र संवेदनशील रहेको संकेत गर्छ।
चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, मलिका महत, निकिता आचार्य, रिश्ता गुरुङ, सविन श्रेष्ठ, गजित विष्ट, नरेन खड्कालगायत कलाकारको अभिनय रहेको छ। दिवंगत भारतीय कलाकार प्रदीप रावतको यो अन्तिम नेपाली फिल्म हो।
आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा चन्द्र पन्तको कथा तथा पटकथा, सन्तोष भट्टको संवाद, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, नवराज उप्रेतीको छायांकन, एलिस कार्कीको पार्श्वसंगीत तथा राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ।
फिल्मका प्रचार सामग्रीप्रति दर्शकले देखाएको चासोले यसको प्रदर्शनलाई लिएर निर्माण पक्ष उत्साहित देखिएको छ। मर्मस्पर्शी कथावस्तु र कलाकारको अभिनयलाई प्रस्तुत गरिएको ट्रेलरले फिल्मप्रति दर्शकको चासो थप बढाउने अपेक्षा गरिएको छ।










