पल र सनिशाको अभिनयमा ‘सुनबुकी फूल’ सार्वजनिक

सङ्गीत । लोकप्रिय अभिनेता पल शाह र अभिनेत्री सनिशा भट्टराईको अभिनय रहेको नयाँ युगल गीत ‘सुनबुकी फूल’को म्युजिक भिडियो सार्वजनिक भएको छ। गरिमा फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार दिउँसो गीतको भिडियो दर्शकमाझ ल्याइएको हो।

गीतमा मिलन नेवार र मार्मिक लामाको स्वर रहेको छ। गीतका शब्द राजनराज शिवाकोटी र गोविन्द भट्टले लेखेका हुन् भने संगीत राजनराज शिवाकोटीले दिएका छन्। गीतको संगीत संयोजन बिजेश्वर राज तण्डुकार र सञ्जीव बराइलीले गरेका छन्। रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ बिजेश्वर राज तण्डुकारले गरेका हुन्।

म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा पल शाह र सनिशा भट्टराई मुख्य भूमिकामा छन्। उनीहरूसँगै पुकार भट्टराईको पनि अभिनय रहेको छ।

भिडियोमा नेपाली मौलिक पहिरन, संस्कृति र सामूहिक नृत्यलाई प्राथमिकता दिइएको छ। पल र सनिशालाई परम्परागत नेपाली पहिरनमा सजिएका युवतीहरूको समूहसँग आकर्षक रूपमा प्रस्तुत गरिएको छ। नेपाली सांस्कृतिक परिवेश र मनोरञ्जनात्मक प्रस्तुतिको संयोजन भिडियोमा देख्न सकिन्छ।

भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका हुन् भने सम्पादन तथा कलर बिजेश पौडेलले गरेका छन्। सहायक कोरियोग्राफी राजाराम सिम्खडाको रहेको छ। मेकअपमा दिपु पौडेल, ड्रेसमा सुजनी मल्ल ठाकुरी तथा आर्टमा जट्टा शंकरले काम गरेका छन्।

भिडियोको पोस्टर विजय बस्यालले तयार पारेका हुन्। प्रोडक्सन म्यानेजर विनोद पौडेल, स्टिल फोटोग्राफी लक्ष्मण पाण्डे, ग्रुप लिडर हरि अधिकारी तथा प्रोडक्सन हेड राम तिमिल्सिना रहेका छन्। भिडियोको पोस्ट प्रोडक्सन लाटोकोसेरो फिल्म्सले गरेको हो।

पल शाह र सनिशा भट्टराईको सहकार्य रहेको यस गीतले उनीहरूको अनस्क्रिन जोडीलाई पुनः दर्शकमाझ प्रस्तुत गरेको छ। गरिमा फिल्म्सले नयाँ सांगीतिक प्रस्तुतिका रूपमा सार्वजनिक गरेको ‘सुनबुकी फूल’ लोक तथा नृत्यप्रधान गीत रुचाउने दर्शकका लागि लक्षित देखिन्छ। गीतको अडियो तथा भिडियो गरिमा फिल्म्सले निर्माण गरेको हो।

कमेन्ट गर्नुहोस्