जर्सिङ पौवामा ‘परिवर्तन’ का लागि सुशील र अञ्जनाको छमछमी

फिल्म । आगामी माघ ९ गते प्रदर्शनमा आउने फिल्म ‘परिवर्तन’ को छायांकन जर्सिङ पौवामा तीव्र गतिमा भइरहेको छ । यसडी योगी र रेश्मा पुनको स्वर रहेको ‘पाकेको चिउरी’ गीतको भिडियो हाल छायांकनमा रहेको छ, जहाँ मुख्य अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराईली नृत्य प्रस्तुत गरिरहेका छन् ।

गीतमा नृत्य निर्देशन रामजी लामिछानेले गरिरहेका छन् भने क्यामेरामेन शिव ढकालले दृश्य कैद गरिरहेका छन् । गीतका शब्द मौसम अर्यालले लेखेका हुन् भने संगीत यसडी योगीकै रहेको छ ।

दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको ‘परिवर्तन’ मा सुशील श्रेष्ठ र अञ्जना बराईलीसँगै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको मुख्य भूमिका रहेको छ । एक्सन–सस्पेन्स विधामा निर्माण भएको फिल्मलाई विजय केरूङले निर्देशन गरेका हुन् ।

फिल्मको कथा तथा निर्माण दीपक सिवाकोटीले गरेका हुन् । पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् । बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत तथा द्वन्द्व निर्देशन श्री श्रेष्ठको रहने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्