अनमोलको टाइमलाइनमा छैन ‘धुपौरे’

25 Shares

फिल्म । केही समयपहिले अनमोल केसीले स्क्रिप्ट चित्तबुझ्दो नभएको भन्दै ‘ब्याचलर बन्टी’ अन्तिम समयमा आएर नखेल्ने निर्णय गरेका थिए । हिरोइनसमेत फाइनल भएको अवस्थामा उनले फिल्म नखेल्ने निर्णय गर्दा निर्माताले लाखौँ गुमाएका थिए। ‘एन्टी हिरो’ पछि धकेलेर ‘धुपौरे’ साइन गरेका उनले यो फिल्मलाई पनि अन्तिम समयमा आएर धोका दिएको खबर छ । मंसिरमा फ्लोरमा जान लागेको फिल्मलाई उही स्क्रिप्ट चित्तबुझ्दो नभएको बहानामा अनमोलले झुलाएको चर्चा छ ।

जबकि फिल्मका लागि अडिसनमार्फत कलाकार छानिँदै थियो भने अनमोल आफैँ लोकेसन हेर्न गएका थिए। यसअघि उनले ‘ग्याङस्टर ब्लुज’ लाई पनि यसै गरी झुलाउँदा– झुलाउँदा पैसा फिर्ता दिएका थिए। अनमोललाई उद्योगमा प्रोफेसनल कलाकारका रूपमा चिनिन्छ। तर, पछिल्लो समय उनले त्यो पहिचान गुमाउँदै गएका छन्। यसको शिकार ‘धुपौरे’ भएको छ।

अनमोल आफैले सोसल मिडिया मार्फत फिल्म गर्ने घोषणा गरेका थिए । तर , यतिबेला उनको अफिसियल सोसल मिडियामा ‘धुपौरे’ छैन । उनले हिजो मात्र दर्शकसँग एन्टी हिरो र ए मेरो हजुर ४ मार्फत आउँदो वर्ष भेट्ने जनाएका छन् । सोसल मिडिया मार्फत उनले दर्शकहरुको उत्साहको मापन समेत गरेका छन् । ‘ए मेरो हजुर ४’ मा अनमोल सुहनासँग दोस्रो पटक काम गर्दैछन् भने ‘एन्टी हिरो’ मा अनमोल आफ्नै पिता तथा कलाकार भुवन केसीसँग पहिलो पटक स्क्रिन शेयर गर्दैछन् ।

विज्ञापन

अनमोलले सामाजिक सञ्जालबाट ‘धुपौरे’ हटाएसँगै यतिबेला फिल्म नबन्ने चर्चाले व्यापकता लिएको छ । यद्दपी निर्माण टिमले क्यारेक्टर रिसर्चको लागि समय लिएको बताएका छन् । तर , अनमोलको सामाजिक सञ्जालले भने उनले धुपौरेलाई ‘लिस्ट’ बाट हटाएको अनुमान सहजै लगाउन सकिन्छ । अनमोल निकट श्रोतको भनाइलाई आधार मान्ने हो भने उनले फिल्म तिहारकै आसपासमा छाडेका छन् । ‘अनमोलले फिल्म छाडेको गाडी किन्ने बेलामा हो’ श्रोतले बतायो ।

कमेन्ट गर्नुहोस्